मधेसका युवतीमाथि दिनदहाडै लुटमार

मधेसका युवतीमाथि दिनदहाडै लुटमार

– मनोजकुमार कर्ण

‘गाडी रोकु ! अैा बस में जैस्मिन हबे कि नै ?’
…‘ऐ गाडी रोकु नै ! जैस्मिन कहाँ है ?…

‘ऊ हुँ हुँ … ओ ड्राइभर, कण्डक्टर साब, बस के रोइक के वोई लैडका के पकैर क हमर मोबाइल खोईज दू । हम घरे नै जायब, हमर पापा हमरा काईट देतै । गे उतर नै बस पर सँ, हम नै जायब !’

…‘हम पुछलिय कि बस में जे छौंरा आईल, से किछो लेल क ? सीट पर किछ छ ल ? तहन अहाँ सब नै बाजिलियै, वो लैडका सिट पर सँ एकटा मोबाइल ल क भागल !’

…‘ऐई, अहाँ सब बस पर बैसब कि सामान सब उताईर दू आ जाऊ, हम सब ? हम कि जाने गेली कि ऊ छौंरा बस में से अहाँ के मोबाइल ल क भागल ? अहाँ सब किया नै कहलि हमरा पहिने ?’

अर्थात्, ‘गाडी रोक्नुस्, यो बसभित्र कोही जैस्मिन नामक केटो छ कि छैन ?’ भन्दै एकजना अधवैंसे पुरूषले गत असोज १३ गते बिहीबार म आफैँ सवार र अपराह्न करिब ४ बजेतिर वीरगञ्जदखि गौशाला, सम्सी हुँदै मनरा बजारसम्म चल्ने बसलाई गौशालामा रोक्दै सोध्न आए । लगत्तै अर्काे मान्छेले पनि केही मीटरकै दूरीमा बस रोक्दै जैस्मिनलाई खोजे । बर्दिवासको गौशाला चोकबाट उक्त बसमा प्लस टु–ब्याच्लर पढ्ने दुईजना युवती पनि कुनै कार्यविशेषले बाहिर गएकोमा घर फर्किंदा अन्य यात्रुसँगै चढेका थिए ।

लोकल बसजस्तो गाडीमा जैस्मिन नामक केटोले ती दुई युवतीलाई पछ्याउँदै पछाडिको सीटतिर बसेर मोबाइल खोसेर एकछिनमा गाडी रोकाई फरार भएको रहेछ ! साथीको मोबाइलबाट आफन्तलाई बोलाएकी पहिलो युवतीले बस रोकाई जैस्मिनलाई समातेर प्रहरीमा बुझाउन चाहेकी थिइन् तर त्यो केटो मोबाइल अफ गरेर फरार भइसकेको रहेछ । ती युवती बुवाले मलाई मार्नुहुन्छ भन्दै कण्डक्टरलाई त्यो केटोलाई समाइदिन बिलौना गर्दै थिइन् भने कण्डक्टरले तपाईंले हामी वा अन्य कसैलाई किन भन्नुभएन र अब हामी यति प्यासेन्जरलाई छोड्दै कहाँ जाने भन्दै बसभित्र चढौं, लक्षिमिनियाँ तपाईंको गन्तव्यमा पु¥याएर सामान झारिदिन्छौं भन्दै थियो । अन्ततः युवतीहरू रूँदै गाडी चढेका थिए ।

यस्तै घट्ना ४–५ वर्ष अघि काठमाडौंको नारायणगोपाल चोकदेखि बस चढेका भक्तपुर बस्ने मण्डल थरको विद्यालय शिक्षकमाथि भएको थियो । टिचिङ अस्पतालबाट दाइलाई दुर्घटनाको उपचार गराउँदै दिउँसै थप सामान लिन भक्तपुर गइरहँदा बसभित्र ४–५ जनको समूह पसेर चारैतिरबाट पेल्दै २१ हजार रूपैयाँ लुटेको थियो । गत असोज १३ गतेको घटनामा जैस्मिनले युवतीहरूलाई गौशाला चौकदेखि नै जिस्क्याउँदै, धम्क्याउँदै गलत इरादाले बसभित्र चढेको रहेछ तर भय, त्रास र लोकलाजको कारण उनले बसभित्र वा बाहिर कसैसँग गुहार माग्न सकिनन्, जसरी मण्डल सर ५ वर्षअघि बसभित्र चिच्याउन सकेनन् !

सार्वजनिक सवारीभित्र यात्रुको सुरक्षा लगभग रामभरोसे छ, सरकार असफल हुँदा लामो दूरीको सवारीलाई लोकल बसजस्तो ठाउँ–कुठाउँ रोक्ने समस्याले पनि घटनाको पुनरावृत्ति मधेशमा गराउँंदो रहेछ । ‘बेटी पढाऊ, बेटी बचाऊ’को मधेश प्रदेशका जसपा मुख्यमन्त्री लालबाबु राउत गद्दीको नारालाई उनकै समुदायका जैस्मिनहरूले धोती लगाइदिएका रहेछन् ।

महोत्तरी जिल्लाकै झिङ्गास्थान, जुन मेरो गाउँ सोनौल नजिकै छ महादेव मन्दिर । अति रमणीय, सन्तरामबाबाको पर्यटकीय गढीजस्तै । तर यी दुवै ठाउँमा उमेरको कारणले शारीरिक अशक्त सन्त छन् । निवर्तमान कार्यवाहक वडाध्यक्ष उपेन्द्र महतोसामु स्थानीयवासीको दुःखेसो कस्तो भने गुठीअन्तर्गत मन्दिरको अडिटिङ काठमाडौंमा गराउनुपर्ने, पैसा उल्टै सरकारलाई बुझाउनुपर्ने तर गाउँघरतिर भक्त नआउँदा, सन्त, पुजारीहरूको भोजनसमेतलाई धौ–धौ ! यही दुर्गति मनरा–शिश्वाको सोनौल वडा–३ स्थित सन्तराम गढीमा पनि छ, जहाँ केपी ओलीको पालामा जिल्लास्थित नेताहरूले करोडौं बजेट ल्याए तर धार्मिक स्थलको विकास कछुवाको गतिमा छ ।

एकजना एमाले नेताले महोत्तरीको मटिहानीका अर्काे एकजना एमाले नेतालाई लिएर सुटुक्क केही वर्षअघि सन्तराम गढी पुगी सन्तलाई फकाउँदै भनेछन्, ‘ऐ बाबा ! सवालाख बजेट आएको छ अहिले पार्वती मन्दिर बनाउनलाई, २५ हजार चन्दा छुट्टाईदिएर ७५ हजार म खान्छु अरू लेऊ, तिमी हल्ला नगर !’ बाबाले तत्काल ‘भागिहाल् यहाँबाट !’ भन्दै धपाएछन् । हाम्रो समूह पनि इभिनिङ वाकमा त्यहाँ पुग्दा ती नेता कुलेलम ठोकिसकेका थिए । यो क्रम गत वैशाख ३० गतेसम्म मेयर–वडाध्यक्षको पालामा पनि चलिरह्यो ।

केन्द्रीय सरकारको यस्तै त्रुटीपूर्ण निर्णयले गणतन्त्रलाई नै बद्नाम तुल्याउँदै छ । राजावादी पञ्चहरूलाई राजनैतिक मसला दिँदै छ । गणतन्त्रको नाउँमा अल्पसंख्यक धर्म, समुदाय आदि भनेर मुस्लिम, इसाई आदिलाई एकातिर सरकारले नै हज पठाउने, मदरसामा डाक्टर, इन्जिनियर पढाउने, धार्मिक ग्रन्थ घोकाउने काम गर्छ । चर्चको संख्या अकल्पनीयरूपमा वृद्धि हुँदैछ, कोही सोल्टी होटलमै होलीवाइन पिउँदै एमाले प्रधानमन्त्री केपी ओलीलाई ३–३ दिनसम्म होटलमा रोक्न सफल हुन्छन्, त्यहीं सनातन हिन्दू तथा बौद्ध धर्मावलम्बीका मठमन्दिर, बिहारहरूलाई गुठीको नियम यस्तो लाग्छ कि सरकारी असहयोगात्मक शैली तथा प्रहार जारी छ ।

नेपालका बोर्डरनिवासी नागरिकहरू सस्तो र सुलभ सामान किन्न भारतीय बजारमै जाँदा रहेछन्, जसलाई दुवैतिर पहिलाको तुलनामा बढी व्यवस्थित हिसाबले चेकजाँच गरेको पाइयो । हामीलाई भारतीय एसएसबीले आदरपूर्वक मोटरसाइकल रोकाउँदै परिचयपछि भनेका थिए, ‘जुन चेक प्वाइन्टबाट पस्नुहुन्छ, सोही बेला हामीलाई दैनिक उपभोगका यी सामान ल्याउनेछौं भन्दिनुस् अनि फर्कंदा निर्वाध ल्याउनुस् सर ! यिनिहरू पेशेवर छन्, जो भारतबाट सस्तोमा लिएर नेपालमा महँगोमा बेच्छन् वा काठमाडौंबाट हरेक चोटि सुनका गरगहना लाएर भारत पसी ज्वेलरी पसलमा पु¥याई चालाखीपूर्वक रित्तो हाथ नेपाल पस्छन् … !’

यसरी भारततिरका एसएसबीलाई आज एक प्वाइन्टमा राखिन्छ भने भोलि अर्काे प्वाइन्टमा राख्ने र बेलुका निकै किलोमिटर पर सीतामढीमा रिपोर्ट गरी त्यहींबाट अर्काे सिफ्ट परिचालन हुने अर्थात् स्थानीयसँग घुलमिल हुन नदिने र सुरक्षा निकायलाई भ्रष्ट बन्न नदिने सरकारी स्मार्ट प्लान देखिन्छ । नेपाली सुरक्षाकर्मीतिर भने यसमा कमी देखिन्छ ! नेपाल–भारत दुइटैतिरका ‘बोर्डरजीवी–परजीवी’हरूले भारतीय नोट अति महँगोमा बेच्ने गरेका छन् । भारतीय पसलमा यदि नेपाली ग्राहकले भारू दियो भने भारू नै फिर्ता पाउँछन् तर यदि नेपाली रूपैयाँ दियो भने भारूको चर्काे बट्टा काटेर बेचेको सामानको मूल्य लिई फिर्ता रूपैयाँ नेपाली हुँदाहुँदै पनि नदिएर भारू दोस्रो बट्टा काटेर दिन्छन् ।

– (उपप्राध्यायक, पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर)

टिप्पणीहरू