होटलहरुले हात उठाउँदै भने ‘बैंकको ऋण र ब्याज तिर्न सकिँदैन’
होटल संघ नेपालले बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जाको साँवा र ब्याजको किस्ता तिर्न नसकिने निर्णय गरेको छ । कर्जाको साँवा र ब्याज भुक्तानी गर्ने समय कम्तीमा दुई वर्ष गर्न अनुरोध गर्दै अन्यथा होटलहरु बन्द गर्नुको विकल्प नभएको चेतावनी दिइएको छ ।
होटलहरुको छाता संगठन होटल संघ नेपालले कोभिड १९ पछि फस्टाउन नसकेको होटल व्यवसायमा अझै समस्या रहेको बताएको छ । संघले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा सरकार र नेपाल राष्ट्र बैंकलाई चेतावनी दिँदै आगामी दुई वर्षसम्म बैंकको साँवा ब्याज तोकिएको मितिमा तिर्न नसकिने उल्लेख छ ।
आज चालु आर्थिक वर्षको पहिलो त्रयमासको अन्तिम दिन हो । आजै सबै ऋण रकमको पहिलो किस्ता तिर्नुपर्छ । उनीहरुले आज तिर्नुपर्ने किस्तालाई समेत केही समय पछाडि धकेल्न अनुरोध गरेका हुन् ।
उनीहरुले कोभिडपछि रुस–युक्रेन युद्धको असरसँग आगामी निर्वाचनले पनि पर्यटनलाई धकेल्ने निचोड निकालेका छन् । उनीहरुले यसअघि कोभिड महामारीको समयमा दिइएको सुविधालाई निरन्तरता दिन सरकारलाई उक्त चेतावनीयुक्त अनुरोध गरेका हुन् ।

टिप्पणीहरू