चुनाव आयो,विनोद चौधरीले बाइक चढ्ने दिन पनि आयो
डलर अर्बपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले मोटरसाइकलमा चढेर भोट मागेका छन् । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका चौधरीले ग्रामीण तथा विपन्न बस्तीमा खिचेको र टी शर्ट लगाएर मोटरसाइकल पछाडि बसेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
उनले दिउँसाे फेसबुकमा लामो स्टाटससहित उक्त फोटो पोष्ट गरेका हुन् । उनले अघि बढिसकेका पाइलाहरु अब नथाक्ने र नरोकिने भन्ने सन्देश दिएका छन् । हिजो अप्रत्यक्ष र आज प्रत्यक्ष रुपमा जनताको घर आँगनमा पुगेको उनको दावी छ ।
तर,चौधरीले सामाजिक सञ्जालमा लेखेको एकाध मीनेटमै सर्वसाधारणले तीव्र प्रतिक्रिया र रोष प्रकट गरेका छन् । विकास श्रेष्ठले आफ्नै उद्योग रहेको क्षेत्रका निमुखा नागरिक र झुपडीमा उभिएर फोटो खिच्दै भोट माग्न अलिकति लाज लागेन ? भनेर सोधेका छन् । उनले लेखेका छन्, ‘समस्या त विगतदेखि थियो । तपाईं एउटा समाजसेवी र उद्योगपति भएका नाताले ती क्षेत्रमा सुधार ल्याउन तपाईं नै नेतृत्व तहमा पुग्नुपर्छ भन्ने पनि छैन नि !’
जनताको नाममा सुको खर्च नगर्ने भन्दै उमेशकुमार रोकायाले मुखभरिको जवाफ दिएका छन् । रोकायाले आफ्नो पेट्रोल सकिन्छ भनेर अर्काको बाइकमा धनी हुने भूत कति धेरै ? भनेर लेखेका छन् । उनले अगाडि लेखे, ’तपाईंको कुनै भिजन र एजेण्डा छैन । तपाईं राजनीति नगर्नुहोस् । किनकि तपाईंको आवश्यकता छैन ।’
चौधरीको पछिल्लो हर्कतलाई धेरै जनाले रुचाएको पाईंदैन । उनले यो सबै नाटक गरेका हुन् भन्नेहरु सामाजिक सञ्जालमा प्रशस्त भेटिएका छन् । दुर्गेश ओझाले उनको फोटो र स्टाटसमा कमेन्ट गर्दै आपत र अप्ठेरोमा जनता र मुलुकलाई निचोर्ने व्यक्ति ठहर्याएका छन् ।
‘चुनाव आएपछि त दुई करोडको कार पनि दुई लाखको बाइक बन्ने रहेछ । अब दुई हजारको साइकल पनि नबन्ला भन्नु छैन । जय होस् लुटेराहरुको निञ्जा टेक्निकको ।’
ओझाले लेखेका छन्,‘भूकम्प गएको बेला,भूकम्पको कारण भोकमरी भा”को समयमा वाइवाइ चाउचाउको मूल्य १५ रुपैयाँबाट सोझै २० रुपैयाँ बनाउने पनि उहाँ नै हो है !’
सँधै रवाफिलो पाराले दैनिकी बिताएका चौधरीले हालेको फोटोलाई व्यङ्ग्य गर्नेमध्येका सुनिल लामिछाने पनि हुन् । उनले धन्न साइकलमा निस्किनु भएन,फोटो चाँहि ल्याण्डक्रुजरवाला होला है ? भनेर दह्रो व्यङ्ग्य गरेका छन् ।
नेता र व्यापारीको असली रुपलाई वीरेन्द्र राउतले स्पष्ट पारेका छन् । राउतले चौधरीको सोही फोटोमाथि कमेन्ट गर्दै यो रुप आगामी मंसिर ४ गतेसम्म जारी रहने ठोकुवा गरेका छन् । उनले भने,‘हेर,चुनाव लागेपछि नेता कति सरल र साधारण हुन्छन् ! भोट पाए पनि नपाए पनि यो रुप मंसिर ४ सम्मलाई मात्रै हो ।’
चौधरी उठेकै क्षेत्रका सन्दिप त्रिपाठीले पनि चौधरीको मुखुण्डो खोलिदिएका छन् । यो सबै प्रपञ्च मंसिर ४ गतेसम्म भएको उनको पनि ठोकुवा छ । लेख्छन्,‘चुनाव आएपछि त दुई करोडको कार पनि दुई लाखको बाइक बन्ने रहेछ । अब दुई हजारको साइकल पनि नबन्ला भन्नु छैन । जय होस् लुटेराहरुको निञ्जा टेक्निकको ।’

चौधरीबाट मुलुक र जनताको निम्ति माखो नमर्ने भन्दै सुमनराज श्रेष्ठले टिप्पणी लेखेका छन् । विनोद चौधरीले देश विकास गर्छु भन्नु र मुकुुन्देले रत्नपार्कलाई मुकुन्देल्याण्ड बनाउँछु भन्नु एकै हो भन्ने उनको निश्कर्ष छ ।
सफल पण्डितले महिनामा १५ दिन आकाशमा उडेर बिताउनेले मोटरसाइकल यात्रा गरेको नपचेको ठम्याएका छन् । उनले ‘महिनामा १५ दिन जति आकाशमा यात्रा गर्ने मान्छे आज बाइक चढेर जनताको घर घरमा’ भनी आश्चर्य व्यक्त गरेका हुन् ।
चौधरीको कालो धनको प्रसंग अमर पोखरेलले निकालेका छन् । फोटामा कमेण्ट गर्दै पोखरेल सोध्छन् ‘तपाईंले राजनीति किन गर्नु परेको ? मनी लण्डरिङको लागि हो ?’
मौसम भट्टराईले विनोद चौधरीले आजसम्म गरिबलाई सहयोग गरेको नसुनेकाले ७० वर्षको बूढोले के परिवर्तन ल्याउने हो र ? भनी उल्लेख गरेका छन् ।
चौधरीले राज्यलाई कर नतिरेको प्रसंग सीपी चापागाईंको लेखाइमा छ । उनले लेखेका छन्, ‘राज्यलाई तिर्नुपर्ने अरबौं रुपैयाँ तिर्न पर्यो पहिले । तपाईंहरु दिन दुगुना रात चौगुना धनी हुँदै जाँदा राष्ट्र कसरी कंगाल बन्यो ?’
टिप्पणीहरू