समालोचक र साहित्यकारबीचको संवाद सार्वजनिक
समालोचक उदय अधिकारीले साहित्यकार महेश पौड्यालसँग लिएको अन्तरवार्ता ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजनिक भएको छ । ललितपुरमा भइरहेको ‘कलिङ साहित्य महोत्सव’ को उद्घाटन समारोहमा साहित्यकारहरू डा. जगमान गुरुङ, अशोक बाजपेयी, तुलसी दिवस, माया ठकुरी र कनकमणि दीक्षितले अंग्रेजी भाषाको पुस्कतरुपी अन्तरवार्तालाई संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।
पुस्तकमा साहित्यसम्बन्धी २२ फरक विषयमा समालोचक अधिकारी र स्रष्टा पौड्यालबीच गरिएको गहन संवाद समावेश छ । संवादले एउटा लेखकको सिर्जनाको पक्ष, समकालीन नेपाली साहित्य र अन्तर्राष्ट्रियकरण, अनुवादका सजिला–अप्ठेरा, बालसाहित्यको वर्तमान अवस्थाजस्ता सार्वजनिक साहित्यिक चासोका विषय समेटेको छ ।
स्रष्टा पौड्यालको जीवनमा सबैभन्दा बढी प्रभाव पारेका २५ देशी–विदेशी पुस्तकको विवेचना पनि समेटिएको छ । पुस्तकलाई बिएन पुस्तक संसारले बजारमा ल्याएको छ ।
समालोचक अधिकारीको यो दोस्रो संवाद–पुस्तक हो । पुस्तकको मूल्य २५० रुपैयाँ राखिएको छ ।
टिप्पणीहरू