ताइवानको बधाई बेइजिङ पुग्यो

ताइवानको बधाई बेइजिङ पुग्यो

चीनको राजधानी बेइजिङमा हिजोदेखि शुरु चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन सफलताको शुभकामना विश्वका विभिन्न मुलुकका सत्तारुढ र विपक्षी दलले दिएका छन् । उत्तर कोरिया, क्युबालगायतका मुलुकले सबैभन्दा पहिले बधाई र सफलताको शुभकामना दिएका थिए ।

एसिया,अफ्रिका,दक्षिण अमेरिकालगायत मुलुकका कम्युनिष्ट पार्टीहरुले पनि शुभकामना दिएको बताइएको छ । यसबीच चीनले आफ्नो अभिन्न अंग मान्दै आएको ताइवानबाट पनि कम्युनिष्ट पार्टीको महाधिवेशन सफलताको कामना गर्दै शुभकामना सन्देश प्राप्त भएको जानकारी दिइएको छ ।

चाइना डेलीका अनुसार उनीहरुले चीन र ताइवानबीचको सम्बन्ध तथा शान्तिपूर्ण विकासलाई प्रवर्धन गर्ने कार्यमा महाधिवेशन सहायक सिद्ध हुने विश्वाससहित शुभकामना दिएका हुन् ।

कोमिन्ताङ पार्टीको केन्द्रीय समितिले पठाएको सन्देशमा आगामी दिनमा चीन र ताइवानबीच सन् १९९२ मा भएको सहमतिबमोजिम फलदायी परिणाम प्राप्तीको निम्ति कम्युनिष्ट पार्टीको महाधिवेशन सहयोगी हुने उल्लेख छ । उक्त कार्यमा दुई पार्टीबीच सहकार्य, सहयोग र आपसी सम्बन्ध आदानप्रदान गर्न सकिने विश्वास पनि लिइएको छ ।

त्यसैगरी उक्त पार्टीका भूतपूर्व नेताहरु लिएन चान,हुङ सिउ छु, ताइवानको नयाँ पार्टीका अध्यक्ष वु छेङ थिएन र नन पार्टिसन सोलिडारिटी युनियनका अध्यक्ष लिन पीन ख्वानले पनि हिजै शुभकामना सन्देश पठाएका छन् ।

ती पार्टीका नेताहरुले पनि चीन र ताइवानबीचको सम्बन्ध र समृद्धिलाई प्रगाढ बनाउन आफ्ना हातलाई अघि बढाउने कार्यमा चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन सफल हुने कामना गरेको बताइएको छ ।

टिप्पणीहरू