प्रहरी लगाएर हज्जारौं अक्सिजन सिलिण्डर खोज्ने तयारी

प्रहरी लगाएर हज्जारौं अक्सिजन सिलिण्डर खोज्ने तयारी

कोभिड महामारीको आपतकालीन समयमा बिरामीहरुको उपचारका लागि अस्पताल पठाइएको अक्सिजन सिलिण्डर फिर्ता नभएपछि उद्योगीहरु मर्कामा परेका छन् । कोरोनाको दोस्रो लहरको बेला अस्पतालले लगेका ती सिलिण्डर अहिलेसम्म फिर्ता भएनन् र उद्योगीहरुले अहिले सरकारसँग हारगुहार गर्न थालेका छन् ।

नेपाल उद्योग परिसंघले गत असोज १३ गते गृह मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै त्यसबारे एउटा पत्र पठाएको छ । पत्रमा अक्सिजन सिलिण्डर फिर्ता गर्ने कार्यमा आवश्यक पहल गरिदिन आग्रह गरिएको छ । मुलुकमा औद्योगिक वातावरण निर्माण गरेर रोजगारीको अवसर सिर्जना गर्दै आएका उद्योगहरुलाई अक्सिजन भर्न सिलिण्डरको अभाव हुन थालेको उनीहरुको भनाइ छ ।

विभिन्न अस्पतालमा यसअघि पठाइएका सिलिण्डर सुरक्षा निकायहरुमार्फत तत्काल उठाइदिन परिसंघले गृह सचिवसमक्ष आग्रह गरेको छ । लामो समय बितिसक्दा पनि सिलिण्डर फिर्ता नभएपछि उद्योगीहरुलाई ठूलो घाटा लागेको परिसंघको भनाइ छ ।

‘अक्सिजन ग्यास उत्पादन गर्ने कम्पनीको सिलिण्डर नेपालका सुरक्षा निकायहरुले विभिन्न अस्पतालमा वितरण गरेको’, पत्रमा भनिएको छ, ‘१३ हजार अक्सिजन सिलिण्डर हालसम्म पनि फिर्ता नहुँदा उद्योगीहरुलाई ठूलो क्षति भएको छ ।’ परिसंघले जुन उद्योगको सिलिण्डर हो सोही उद्योगमा पठाइदिन माग गरेको छ ।परिसंघकाअनुसार शंकर अक्सिजन ग्याँस प्रालिको एक हजार दुई सय,सीता प्रोडक्ट प्रालिका दुई हजार ८०३, शोभन फर्मास्युटिकल लिमिटेडका एक हजार ३४०,नवज्योति ग्यास प्रालिका एक हजार, कान्तिपुर अक्सिजन प्रालिका ९७५ लगायत अन्य कम्पनीका ११ हजार ३३४ वटा ठूला सिलिण्डर फिर्ता भएका छैनन् ।

त्यस्तै, सीताको एक हजार ७६१ र कान्तिपुरका ११० गरी एक हजार ७१ वटा साना सिलिण्डर पनि उठाउन सकिएको छैन । पत्राचार गरेको तीन साता बित्न लागिसक्दा पनि सिलिण्डर फिर्ता नभएको परिसंघले बताएको छ ।

यता, गृहले गत असोज २३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल, प्रधान कार्यालय, हलचोकलाई सिलिण्डर फिर्ता गराइदिन परिपत्र गरेको छ । गृहले परिपत्र गरे पनि अस्पतालहरुबाट सिलिण्डर उठाउने काम सुचारु भएको छैन ।

सिलिण्डर फिर्ता गराइदिन निर्देशन दिइसकेको गृहका एक अधिकृतले बताए । हालसम्म रिपोर्ट नआएको हुनाले सिलिण्डर फिर्ता भयो कि भएन यसबारे जानकारी नभएको ती अधिकृतको भनाइ छ । ‘सिलिण्डर फिर्ता गराइदिन लेखेर पठाइसकेका छौं’, उनले भने, ‘अहिलेसम्म कति वटा फिर्ता भयो रेकर्ड आएको छैन, छिट्टै नै आउला ।’ कोभिडको दोस्रो लहरमा अक्सिजनको चरम अभाव देखिएको थियो ।

अस्पतालहरुको खिचातानी र कालोबजारी रोक्नका लागि सरकारले आफ्नो नियन्त्रणमा राखेर सिलिण्डर वितरण गर्ने निर्णय गरेको थियो । त्यतिखेर एउटा उद्योगको सिलिण्डर अर्कोतिर पुगेको हुनाले संकलनमा समस्या परेको बताइएको छ । कुन उद्योगको सिलिण्डर कहाँ छ ? यसको विवरण सरकारसँग पनि छैन ।

टिप्पणीहरू