एनआरएनए बेलायतका थप १५ पदाधिकारी बर्खास्त

एनआरएनए बेलायतका थप १५ पदाधिकारी बर्खास्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका निलम्बित अध्यक्ष प्रेम गाहा मगरले कार्यसमितिका २१ जनालाई बर्खास्त गरेका छन् । अस्ति सम्पन्न उनीनिकट विशेष महाधिवेशनले संस्थाको हित विपरित क्रियाकलाप गरेको आरोपमा छ जना उपाध्यक्षसहित कार्यसमितिका बाँकी १५ जनालाई पनि पदच्युत गरेको हो ।

बर्खास्त हुनेमा उपाध्यक्षहरु क्रमश : नारायणदत्त कँडेल, सुनिलबाबु खड्का, मोहन कार्की,गोविन्द खरेल रामचन्द्र पोखरेल र शकुन्तला गुरुङ छन् ।

महाधिवेशनले महासचिव खुशी लिम्बु,सचिवहरु ज्ञानेन्द्र आले,विष्णु चालिसे, कोषाध्यक्ष विष्णु खरेल र सहकोषाध्यक्ष सशांक शर्मालाई पनि बर्खास्त गरेको जनाइएको छ । सदस्यहरु सुमन शर्मा, हिरा सापकोटा (दीपक), पदम शाही,भानुभक्त घिमिरे,सुरेश परियार, उपेन्द्र पौडेल,सपना खनियाँ,बालकृष्ण दाहाल,काशिराम भण्डारी, कृष्ण भण्डारी र बलबहादुर थापा पनि बर्खास्तमा परेका छन् ।

आर्थिक अपचलनमा संलग्न,उक्त कार्यलाई साथ दिने र संस्था हित विपरित समानान्तर गतिविधि गर्नेलाई बर्खास्त गरिएको मगरनिकट एनआरएन बेलायतले जानकारी दिएको छ ।

संघले संस्था फुटाउन उद्यत रहेको,गुटबन्दी गरेर विग्रह ल्याउन खोजिएको भन्दै ठूलो संख्यामा पदाधिकारीसहित सदस्यहरुलाई गरेको बर्खास्ती पूर्वाग्रहको पराकाष्ठा रहेको र यसले मान्यता नपाउने अर्को पक्षको दावी छ । बर्खास्त गरिएको ठाउँमा पदपूर्ति पनि गरेको भनिएको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषदसँग अध्यक्षको अनुमति नलिई गत जुलाई २७ का दिन ३९ हजार २ सय ८५ पाउण्ड ७३ पेन्स संस्थाको रकम उपाध्यक्ष सुनिलबाबु खड्का,नारायणदत्त कँडेल र कोषाध्यक्ष विष्णु खरेलले खाताबाट झिकेर नेपाल पठाएपछि विवाद चर्केको हो ।

विवादपछि छुट्टै समूह बनाएर संस्थाविरुद्ध गुटबन्दी गरेको र निर्वाचित अध्यक्ष विरुद्ध गैर–कानुनी रुपमा अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गरेको आरोप लागेको छ । त्यही हस्ताक्षरको आधारमा गैरआवासीय नेपाली संघ आइसीसीको एउटा समूहले अध्यक्ष गाहामगरलाई पदमुक्तको पत्र पठाएको थियो ।

तर आइसीसीका कार्यकारी अध्यक्ष रविना थापाले एनसीसीहरु स्वायत्त भएकाले आइसीसीले कारवाही गर्न नसक्ने बताएकी छन् । प्रेम गाहामगरलाई गरिएको पदमुक्तबारे आफूलाई जानकारी नभएको पनि उनले बताइन् ।

निरन्तर रुपमा संस्थामाथि आँच आउने क्रियाकलाप गर्ने,सम्पन्न भइसकेको साधारणसभा तथा संघसंस्था भेला पुनः डाकेर संस्था विभाजन गरेकाले संघले बाध्य भएर उनीहरुलाई बर्खास्त गर्नुपरेको निलम्बित अध्यक्ष प्रेम गाहामगरको भनाइ छ ।

रकम अपचलनपछि गत अगष्ट ६ मा सम्पन्न साधारणसभाले संस्थाभित्रको विकृति र बिसंगति छानबिन गर्न समिति गठन गरेको थियो । समितिले छानबिनपछि दिएको प्रतिवेदनमा कार्यसमितिका २१ जनामध्ये नारायण कँडेल,सुनिलबाबु खड्का र कोषाध्यक्ष विष्णु खरेललाई मुख्य दोषी ठहर गरिएको छ ।

बाँकी अन्यलाई संस्थाभित्र विकृति ल्याउन सहयोगी र मतियार बनेको ठहर गरेको थियो । त्यहि ठहरबमोजिम उनीहरुलाई कारवाही गरिएको मगर निकट संघले जनाएको छ ।

टिप्पणीहरू