मधेश प्रदेशमा कता पल्टेला मत ?

मधेश प्रदेशमा कता पल्टेला मत ?

मधेस प्रदेशको राजनीतिक शक्तिसन्तुलन ०६४ अघिको छनक आउने गरी परिवर्तन हुँदैछ । अब पहिलो कांग्रेस, दोस्रो एमाले र मधेसवादीहरू पातलिनेचाहिँ निश्चितजस्तै छ ।

सर्लाही १ मा कांग्रेस उम्मेदवारविहीन हुँदा स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का बलियो भएका छन् । एमालेबाट समाजवादी भएका उनलाई समाजवादीले पनि वास्ता नगरेपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । त्यहाँ एमाले, माओवादी र लोसपाको गठबन्धन छ । लोसपाका प्रमोद साह संघतर्फ उठेका छन् । उक्त क्षेत्रमा स्थानीय चुनावमा कांग्रेसले जितेको चन्द्रनगर नगरपालिका, ईश्वरपुर नगरपालिकाका १ देखि १४ नं। वडा, लालबन्दी नगरपालिका, कविलासी नगरपालिकाका १, २ र ७ नं। वडा, हरिपुर नगरपालिका–२ देखि ८ नम्बर वडा छन् । २ नं। क्षेत्रमा सत्ता गठबन्धनअन्तर्गत माओवादीको चुनाव चिह्नबाट टिकट पाएका बाबुरामपक्षीय महिन्द्रराय यादवको राम्रो छ । ३ मा माओवादीका नरेन्द्र साह अगाडि छन् । उनी पहिला स्वतन्त्र थिए । रामेश्वर राय यादवले टिकट नलिएपछि माओवादीले उनलाई पार्टीमा प्रवेश गराएर भोलिपल्टै उम्मेदवार बनाएको हो । पहिला गगन थापासमेत सिफारिसमा परेको सर्लाही ४ मा कांग्रेसका नागेन्द्रकुमार राय र स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै अमरेशकुमार सिंहबीच प्रतिस्पर्धा छ ।

रौतहट १ मा माधव नेपाल, २ मा मोहम्मद आफ्ताव आलमका छोरा फिरदोस, ३ मा गठबन्धनको समर्थनप्राप्त स्वतन्त्र प्रभु साह र ४ मा कांग्रेसले जित्ने स्थिति छ । बारा र पर्सामा जसपाको पकड राम्रो भए पनि यसचोटि एमालेबाट भएको धोकाका कारण पर्सामा प्रदीप यादवबाहेक जसपाका अरुले जित्ने सम्भावना कम छ भनिन्छ । सप्तरीमा उपेन्द्र यादव आफैँ अप्ठेरोमा छन् । उनले एमालेसँग गरेको तालमेल ‘सुसाइडल गेम’ हुन पुगेको छ । जसपाले एमालेसँग गरेको गठबन्धनका कारण त्यहाँ व्याप्त ओलीविरोधी जनमतले ब्याकफायर हुने खतरा भएको हो । प्रभु साहले पनि एमालेबाट चुनाव उठ्न आँट नगर्नुका पछाडि यो पनि एउटा कारण बताइन्छ ।

महोत्तरीमा शरद्सिंह भण्डारी, गिरिराजमणि पोखरेल र महन्थ ठाकुरले जित्ने स्थिति छ । धनुषामा पनि गठबन्धन अगाडि छ । एमालेले जिते रघुवीर महासेठ र जुलीकुमारी महतोमात्रै हुन्, अरुको खासै सम्भावना देखिँदैन । एमालेले सिराहा २ मा उठाएका लीलानाथ श्रेष्ठको राम्रो पकड छ ।

टिप्पणीहरू