निर्वाचन आचारसंहिता लागू गर्न प्रहरी खटाइने
निर्वाचन अधिकृतको कार्यालय पर्साले आचारसंहिता पालना गराउन कडा कदम चाल्ने भएको छ । दिनहुँ आचारसंहिता उल्लङ्घनका उजुरी पर्न थालेपछि कार्यालयले कडाइ गर्न लागेको हो ।
कार्यालयले निर्वाचन आयोगबाट तोकिएका अनुगमन अधिकृतलाई निर्वाचन आचारसंहिता पालना भए–नभएको अनुगमन गर्न निर्देशन दिएको छ । राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारहरुलाई आचारसंहिता पूर्ण रुपमा परिपालन गराउन कार्यालयले भनेको हो ।
जिल्लास्थित चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले आचारसंहिताविपरीत टाँस गरिएका पर्चा, प्याम्प्लेट, ब्यानर, फ्लेक्स बोर्ड निकाल्नका लागि अनुगमन अधिकृतलाई सघाउन सुरक्षा निकायलाई अनुरोध गरेको छ ।
क्षेत्र नं १ का मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेल, क्षेत्र नं २ का निर्वाचन अधिकृत सुशील देवकोटा, क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत योगनाथ ढकाल र क्षेत्र नं ४ का निर्वाचन अधिकृत रमेश श्रेष्ठले आचारसंहिताको पूर्ण पालना गराउनका लागि आवश्यक सहयोग गरिदिन सुरक्षा निकायलाई विज्ञप्तिमार्फत आग्रह गरेका हुन् ।
चुनावको मितिभन्दा १७ दिन अगाडिबाट मात्र चुनावसम्बन्धी सभा सम्मेलन, कोण सभा एवम् घरदैलो कार्यक्रम गर्न पाउने व्यवस्था रहेको स्मरण गराउँदै विज्ञप्तिमा आचारसंहिता उल्लङ्घन नगर्न–नगराउन भनिएको छ ।
आचारसंहिता उल्लङ्घन हुने गरी कुनै पनि कार्य नगर्नु भनी सम्बन्धित पार्टी एवं स्वतन्त्र उम्मेदवारलाई समेत जानकारी गराउने र अटेर गरे कानूनी कारबाहीका लागि लेखि पठाउने निर्णय यसअघि नै आचारसंहिता अनुगमन समितिबाट भइसकेको कार्यालयले जनाएको छ ।
यसबारे जानकारी गराउँदा गराउँदै पनि कसैले आचारसंहिता उल्लङ्घन गरेमा कानूनबमोजिम कारबाही गरी उम्मेदवारी रद्द गर्ने चेतावनीसमेत दिइएको छ ।
टिप्पणीहरू