एमालेसँगको तालमेलविरुद्ध राप्रपामा विद्रोह
अध्यक्ष राजेन्द्र लिङ्गदेनले सूर्यमा भोट नहाले कारवाही गर्ने चेतावनी दिएकै दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन दर्जन केन्द्रीय सदस्यले एमालेसँगको चुनावी तालमेल अस्वीकार गरेका छन् । पार्टी हितविपरित निश्चित नेताको स्वार्थका खातिर अध्यक्ष लिङ्गदेनले मनोमानी निर्णय गरेको भन्दै ३० जना केन्द्रीय सदस्य, दर्जनौँ पूर्वकेन्द्रीय सदस्यसहित ठूलो समूह तालमेलको निर्णयविरुद्ध उभिएको छ ।
असन्तुष्ट समूहले हिजो पार्टी कार्यालयमै पुगेर अध्यक्ष लिङ्देनलाई सचेतनापत्र बुझाएको छ । पत्रमा पार्टीप्रति जनताको आशा र भरोसा बढिरहेको स्थितिमा विगतमा आफैँले अपवित्र घोषणा गरेको दलसँग तालमेल गरिनु सर्वथा अनुचित हुने जनाइएको छ । त्यस्तै, १६५ मध्ये जम्मा तीन सीटमा मात्रै तालमेल गर्ने निर्णयलाई उनीहरुले स्वार्थको गठजोड भनेका छन् ।
दुवै पार्टीका अध्यक्षको जीत सुनिश्चित गराउन एमाले र राप्रपाले झापामा कसिलो तालमेल गरेका छन् । निर्णयअनुसार अध्यक्ष लिङ्गदेनका लागि झापा–३ सुरक्षित गराएर राप्रपाले बाँकी सबै क्षेत्रमा एमालेलाई सहयोग गर्ने छ । देशभरका कूल १६५ मध्ये राप्रपाले तीन सीट पाएको छ । रुपन्देही–३ मा दिपक बोहोरा र बाँके–२ मा धवलसमशेरलाई एमालेले सहयोग गर्नेछ । तालमेल भएका यी क्षेत्रबाहेक अन्यत्र दुई दल प्रतिस्पर्धी छन् ।
एमालेसँग तालमेलको निर्णय गर्नुअगाडि लिङ्गदेनले केन्द्रीय कमिटीमा छलफल नै नगरी हठात् निर्णय गरेको भन्दै असन्तुष्ट समूहले निर्णय प्रक्रियाप्रति पनि प्रश्न उठाएका छन् । अध्यक्ष लिङ्गदेनले गरेको एकलौटी निर्णयले सिंगो पार्टी, राप्रपाको सिद्धान्त, आदर्श, अठोट, र संकल्प तथा जनताप्रति गरिएको प्रतिज्ञाको अवमूल्यन भएको उनीहरुको ठहर छ ।
साथै, समानुपातिक सूची निर्धारण गर्दा पनि पक्षपातपूर्ण व्यवहार गरेको नेताहरुको गुनासो छ । परिवारका सदस्य र आसेपासेलाई च्यापेर इमान्दार नेता कार्यकर्तालाई कर्नरमा पारेको, क्षेत्रीयतावाद लादेको जस्ता आरोप लगाइएको छ । समानुपातिक सूचीमा अध्यक्ष लिङ्गदेनको गृहजिल्ला झापालाई प्राथमिकतामा पारेर ३२ जिल्लाका नेता कार्यकर्ताको प्रतिनिधित्व नै शून्य गराएको असन्तुष्ट नेताहरुले बताएका छन् । जिल्ला तथा प्रदेशले नचिनेका, सक्रिय सदस्यता नभएका तथा संस्थागत सिफारिससम्म नभएकालाई सोझै केन्द्रले हस्तक्षप गरेर आफू अनुकूल नाम राखेको सचेतना पत्रमा उल्लेख छ ।
त्यस्तै, ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिताको संवैधानिक व्यवस्था कुल्चेर प्रत्यक्षतर्फ लड्न चाहने महिलालाई प्रोत्साहन गर्नुको बदला कारवाहीको डण्डा बर्साउँदै दमन गरेको पनि उनीहरुले आरोप लगाएका छन् । यसलाई विवेकहीन,पक्षपाती र अन्यायपूर्ण निर्णय भनेका उनीहरुले तत्काल सच्याउन माग पनि गरेका छन् । अन्यथा यसबाट पार्टीमा पर्ने क्षतिको सम्पूर्ण जिम्मेवारी अध्यक्ष लिङ्गदेनले नै लिनुपर्ने उनीहरुको चेतावनी छ ।
केन्द्रीय सदस्य किशोर कार्कीले एमालेलाई भोट दिनुपर्ने विषयमा कार्यकर्ताले प्रश्न गर्न थालेपछि अध्यक्षलाई ध्यानाकर्षण गराउन बाध्य भएको बताए । जम्मा तीन सीटमा मात्रै तालमेल गरेकोमा पनि उनको असन्तुष्टि छ । भने, ‘पहिलो कुरा विचार नमिल्ने शक्तिसँग तालमेल गर्ने निर्णय नै बेठीक छ । चुनावको फाइदा हेरेर गरेको हो भने पनि दुवै पार्टीको हैसियतअनुसार सबैतिर तालमेल गरिनुपर्थ्यो । तर, किन केही नेताका लागि मात्रै गरियो ?’ केन्द्रीय कमिटीमा छलफल नै नगरी निर्णय गरिएकाले पनि अहिले विवाद आएको उनको भनाइ छ ।
राप्रपामा केही समययता लिङ्गदेनको नेतृत्वलाई लिएर पुराना पुस्ताका नेताहरु बढी असन्तुष्ट छन् । कमल थापालाई विस्थापित गर्दै महाधिवेशनबाट पार्टीको नेतृत्वमा एकाएक उदाएका लिङ्गदेनले नयाँ र युवालाई समेट्ने नाममा अप्ठेरो परिस्थितिमा समेत राप्रपाको बिचार समातेर बसेका पुराना र अनुभवी नेताहरुलाई पाखा पारेपछि शुरु भएको असन्तुष्टिले विवादको रुप लिएको छ । चुनावको मुखमा आइपुग्दा पार्टीभित्र थप किचलो बढेको हो ।
तर, लिङ्गदेन पक्षधर नेताहरुले भने एमाले–राप्रपा तालमेलको विरोध गर्नुको कुनै तुक नभएको बताएका छन् । पार्टीले निर्णय गरेर चुनावमा होमिइसकेको अवस्थामा अनावश्यक विवाद झिकेर कम्जोर बनाउन खोजेको लिङ्गदेन निकटका नेताहरुको आरोप छ ।
‘राप्रपा प्रजातान्त्रिक पार्टी हो, चित्त नबुझेको कुरा गर्न मज्जाले पाइन्छ तर, केही ठाउँमा राप्रपा–एमालेको तालमेल हुने कुरा उहाँहरु (असन्तुष्ट समूह) लाई विगत २÷३ महिनादेखि नै थाहा थियो । त्यतिबेलै यो विषयमा किन चुप बस्नुभयो ?’, एक नेताले आक्रोश पोख्दै प्रश्न गरे, ‘किन नेतृत्वलाई पत्र लेख्नुभएन ? तपाईंहरुको असन्तुष्टि राप्रपा–एमाले तालमेलसँग हो कि समानुपातिकमा आफ्नो नाम नपरेको रिस हो ?’
टिप्पणीहरू