तिहारमा पड्काउन विस्फोटक पदार्थ ओसारियो
तिहार निजिकिँदै गर्दा देशभर पटाका ओसारपसार बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको छ । पटाका तथा विस्फोटक पदार्थहरूको ओसारपसार तथा प्रयोगमा सरकारले रोक लगाएको भए पनि तिहारका बेला अवैधरुपमा यसको ओसारपसार हुने गरेकाले प्रहरी सक्रियता बढेको हो । हिजोमात्रै मोरङ, रौतहट र नवलपरासीबाट दुई लाख ७० हजार रुपैयाँ बराबरको पटाका प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार मोरङको जहदा गाउँपालिका–५, राजभरबाट करिब दुई लाख रुपैयाँ बराबरको विभिन्न किसिमका पटाका हिजो साँझ बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याउन लागेको उक्त पटाका समातेको हो ।
रौतहट प्रहरीले बौधीमाई नगरपालिका–७, बंकुलबाट करिब ५० हजार रुपैयाँ मूल्य बराबरको पाँच बोरा पटाका आज बिहान बरामद गरेको छ । प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको पटाका बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका–४ टीसीएन चोकबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरको ठूलो पटाका ६८ प्याकेट र सानो झिरझिरे ११७ प्याकेट आज बिहान प्रहरीले समातेको छ । बर्दघाट कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त पटाका फेला पारेको हो ।
टिप्पणीहरू