स्कुल नखोल्न आदेश दिने नगरपालिकाको निर्णय केन्द्रले उल्टायो

स्कुल नखोल्न आदेश दिने नगरपालिकाको निर्णय केन्द्रले उल्टायो

कपिलवस्तुको बाणगंगा नगरपालिकाको दशैं र तिहारको बीचमा विद्यालय बन्द गर्ने निर्णय शिक्षा विकास तथा समन्वय इकाइले उल्टाइदिएको छ ।

दशैँ बिदापछि तिहारसम्मको अवधीमा विद्यालय सञ्चालन गरे कारबाही गर्ने चेतावनी दिइएपछि इकाइले शिक्षा ऐन तथा कानूनमा त्यस्तो कुनै व्यवस्था नभएको भन्दै नगरपालिकालाई पत्र लेखेको हो ।

नगरपालिकाको निर्णयविरुद्ध कपिलवस्तु विद्यामन्दिरका संस्थापक प्रिन्सिपलले उजुरी दिएपछि इकाइले पत्राचार गर्दै भनेको छ, ‘नेपाल सरकारले निषेध गरेको समयबाहेक विद्यालय खोलेर पठनपाठन गरेवापत विद्यालयलाई कारबाही गर्न मिल्ने कानून संघीय शिक्षा ऐन तथा नियमावलीमा कतै पनि व्यवस्था नभएको जानकारीका लागि अनुरोध छ ।’नगरपालिकाको गत असोज ९ गतेको बैठकले दशैं तथा तिहारबीचको समयमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर, केही संस्थागत विद्यालयले निर्णय अस्वीकार गर्दै असोज २४ गतेबाट विद्यालय सञ्चालन गरेपछि नगरपालिकाको असोज २५ गते पुनः बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।निर्णय अवज्ञा गर्ने विद्यालयलाई कानूनबमोजिम कारबाही गर्ने (नगरबाट दिइने सेवालगायत अनुमति रोक्का जस्ता प्रक्रिया अघि बढाइने) चेतावनी दिएपछि इकाइमा उजुरी परेको थियो ।

टिप्पणीहरू