‘नक्कली आईडी बनाएर भ्रम छर्ने काम भयो’
काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले आगामी मङ्सिरमा हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रुपमा सम्पन्न गर्न आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाएकी छन् ।
आज निर्वाचन आयोगलाई पत्र लेख्दै उनले उपमेयरको हैसियतले गर्नुपर्ने आचारसंहिताको परिपालना, समन्वय र सहयोगका लागि आफू संवेदनशील रहेको पनि बताएकी छन् । निर्वाचन आचारसंहिता, २०७९ बमोजिम सम्पूर्ण आचरण पालना गरेको उल्लेख गर्दै उनले आफ्नो नामबाट नक्कली परिचय (आइडी) बनाएर सामाजिक सञ्जालको दुरुपयोग भएकोप्रति आयोगको ध्यानाकर्षण गराएकी छन् ।
सामाजिक सञ्जालमा आफ्नो नक्कली परिचय बनाएर अफवाह फैलाउने, गलत सूचना तथा व्यहोरा सम्प्रेषण गर्नेलगायत क्रियाकलाप भइरहेको उनको पत्रमा उल्लेख छ । यसप्रति आफ्नो गम्भीर आपत्ति रहेको बताउँदै उपमेयर डंगोलले कानूनविपरीत कार्य गर्ने–गराउनेलाई आवश्यक कारबाही गर्न आयोगसँग मागसमेत गरेकी छन् ।
‘मंसिर ४ गते हुने निर्वाचनलाई केन्द्र बनाई अफवाह फैलाउने, गलत सूचना तथा व्यहोरा सम्प्रेषण गर्ने, आचारसंहिताविपरीत मेरो नामबाट नक्कली परिचय पत्र खडा गरी सामाजिक सञ्जालको दुरुपयोग गर्ने काम भइरहेको देखिएकाले यो कार्यप्रति मेरो ध्यानाकर्षण भएको छ’, पत्रमा भनिएको छ, ‘त्यस्तो कार्यप्रति मेरो गम्भीर आपत्ति छ र त्यस्तो कानूनविपरीतको कार्य गर्ने, गराउनेको पहिचान गरी आवश्यक कारबाही गर्न गराउन सादर निवेदन गर्दछु ।’
टिप्पणीहरू