कर जोडेर अन्तिम मूल्य तोक्न होटल, रेष्टुरेण्टलाई निर्देशन
होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीहरुलाई उपभोक्ताले तिर्नुपर्ने सबै किसिमको सेवाशुल्क तथा कर रकमसहितको अन्तिम मेनु तय गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ । मेनुमा उल्लेख गरिएको मूल्यमा अतिरिक्त सेवाशुल्क तथा मूल्य अभिवृद्धि कर जोडेर बिल भुक्तानी गर्न उपभोक्तालाई बाध्य पारेको गुनासो आएपछि विभागले यस्तो निर्देशन दिएको हो ।
वस्तु तथा सेवाको मूल्य उल्लेख गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमको सेवाशुल्क तथा कर रकमसहितको अन्तिम उपभोक्ता मूल्य तोक्नुपर्ने विभागद्धारा जारी सूचनामा भनिएको छ । त्यसरी उल्लेख गरिएको मूल्यमा कुनै किसिमको अतिरिक्त रकम नलिन पनि विभागले प्रष्ट भनेको छ । अन्यथा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गर्ने विभागको कडा चेतावनी छ ।
मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १४ (ख) अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले आफ्नो प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस) मा करसहितको मूल्य उल्लेख गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै, कुनै पनि व्यवसायीले वस्तु वा सेवाको उपभोक्ता मूल्यअन्तर्गत कानूनबमोजिम उपभोक्ताले तिर्नुपर्ने शुल्क तथा कर रकमसमेत उल्लेख गर्नुपर्ने प्रावधान छ ।
मेनुमा उपभोक्ता मूल्य उल्लेख गर्दा कम रकम उल्लेख गर्ने (कतिपय अवस्थामा मेनुको तल वा अन्तिम पुष्ठमा सेवाशुल्क तथा मूल्यअभिवृद्धि कर अतिरिक्त भनेर कैफियत जनाउने) र बिजक जारी गर्दा उल्लिखित रकममा थप शुल्क तथा कर रकमसहितको बिजक जारी गर्नु उपभोक्ता संरक्षण ऐन, २०७५ तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को व्यवस्थाबमोजिम भएको विभागको ठहर छ ।
टिप्पणीहरू