स्वयम्भू क्षेत्रलाई साँस्कृतिक केन्द्र बनाइने : पर्यटनमन्त्री श्रेष्ठ

स्वयम्भू क्षेत्रलाई साँस्कृतिक केन्द्र बनाइने : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ लाई मुलुकको साँस्कृतिक केन्द्रका रुपमा विकास गर्ने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका मन्त्री श्रेष्ठले निर्वाचन परिचालन समितिद्वारा डल्लुमा आयोजित कार्यक्रममा बोल्दै यस्तो प्रतिबद्धता गर्नुभएको हो ।

विश्वसम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरबार स्क्वायर र स्वयम्भू जोड्ने सम्पदा मार्ग निर्माण, मुलुककै प्राचीन स्थानीय सम्पदाहरुको संरक्षण र पर्यटकीय स्थल ह्वाईट गुम्बा वरपर पूर्वाधार विकास गरी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ लाई नेपालको सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्री श्रेष्रठले बसन्तपुर दरबार स्क्वायर र स्वयम्भूलाई जोड्ने सम्पदा मार्ग निर्माण कार्य शुरु भइसकेको समे जानकारी दिनुभएको छ । स्वयम्भूदेखि हनुमानढोकासम्मका सम्पदाहरुलाई विश्व सामू चिनाउने र पर्यटन क्षेत्रको विकास गर्ने मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो ।

दुवै विश्व सम्पदाको बीचमा रहेका कैयौं स्थानीय सम्पदाहरुको पहिचान र संरक्षणबाट उक्त क्षेत्र साँस्कृतिक राजधानीका रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताउनुभयो । सम्पदाको संरक्षण, पर्यटकीय क्षेत्रको विकास तथा त्यसमार्फत् आर्यआर्जन गरी स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने मन्त्री श्रेष्ठको योजना रहेको छ ।

टिप्पणीहरू