पोखरा र बुटवलका श्रम कार्यालयलाई थप अधिकार

पोखरा र बुटवलका श्रम कार्यालयलाई थप अधिकार

वैदेशिक रोजगार विभागले श्रम तथा रोजगार कार्यालय पोखरा र बुटवललाई थप अधिकार प्रत्यायोजन गरेको छ । विभागले वैदेशिक रोजगारीसम्बन्धी कामकाजलाई सहज, सजिलो र सहज बनाउन दुबै कार्यालयलाई विभिन्न ६ वटा अधिकार थपिदिएको हो ।

जसअनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा १५ बमोजिम वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि प्राप्त निवेदन लिने र दिने काम अब कार्यालयले नै गर्न पाउनेछ ।

त्यस्तै, ऐनको दफा १६ बमोजिम विज्ञापन गरे,नगरेको सम्बन्धमा नियमित अनुगमन गरी सत्यतथ्य बुझ्ने, दफा १९ बमोजिम तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर) को लागि निवेदन लिने र वितरण गर्ने अधिकार पनि कार्यालयलाई दिइएको छ ।

दफा २१ बमोजिम वैदेशिक रोजगारका लागि व्यक्तिगत रुपमा विदेश जान चाहनेहरुबाट निवेदन लिने र विभागको प्राप्त निर्णय वा अधिकार प्रत्यायोजन भएअनुसार स्वीकृति दिने जिम्मा पनि कार्यालयलाई सुम्पिइएको छ । दफा ३४ बमोजिम इजाजतपत्रवालाका शाखा कार्यालयहरुको अनुगमनको जिम्मा पनि कार्यालयलाई थपिएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागअन्तर्गत धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयलाई यसअघि नै वैदेशिक रोजगारसम्बन्धी कार्य गर्ने अधिकार दिइएको छ । प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने अधिकार भएपनि कार्यान्वयनको गतिले तीव्रता लिन सकेको छैन् ।

टिप्पणीहरू