ताप्लेजुङको जंगलमा सुन

ताप्लेजुङको जंगलमा सुन

कमल भट्टराई

ताप्लेजुङको सदरमुकाम नजिकैको जंगलमा सुनका गहना फेला परेको छ । फुङलिङ नगरपालिका ४ को जंगलमा फोहोरका थुप्रोमा बोरामा प्याक गरी लुकाएको अवस्थामा ती गहना फेला परेका हुन् ।

हिजो दिउँसो ४ बजेको समयमा ८९ थान सुनका गरगहना फेला परेको हो । ती सबै गहनाको तौल लिन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कैलाश राईले बताए ।

यसअघि फुङलिङ बजारको वीरेन्द्र चोकमा रहेको कञ्चन मनी ट्रन्सफर लुटिएको थियो । गत असोज १७ गते बिहान ९ बजेर २१ मीनेट जाँदा लुटपाट भएको हो । प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा सोही दिन दिउँसो २ बजेर ४० मीनेटको समयमा एक जना पक्राउ परेका हुन् ।

प्रहरीले नियन्त्रणमा लिएका राजायन्द्र पर्तेलको साथबाट १३१ थान (१४३ तोला) सुनका गरगहना, नगद छ लाख १३ हजार तीन सय ४० र पेस्तोलसमेत फेला पारेको बताएको छ ।

उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले भोलिपल्ट झापाको शिवसतासी नगरपालिका १ बाट चुनबहादुर सुनुवारलाई र पर्सिपल्ट फुङलिङ नगरपालिका २ हेलिप्याडबाट मणिराज पर्तेललाई पक्रेको थियो । अर्का एक जनालाई पाँचथरको फिदिम बजारबाट पक्राउ गरिएको बताइएको छ ।

कञ्चन मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले ३ सय ४८ तोला सुन र ११ लाख ६३ हजार दुई सय ५० रुपैयाँ नगद लुटिएको जानकारी दिएका छन् । उक्त सुनको बजार मूल्य तीन करोड ३९ लाख ९९ हजार छ सय रुपैयाँ बराबर भएको श्रेष्ठले दाबी गरेका छन् ।

टिप्पणीहरू