प्रधानमन्त्रीको गृह क्षेत्रमा काँग्रेसद्वारा चुनाव बहिष्कार घोषणा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा उहाँको पार्टीले चुनाव बहिष्कार गर्ने घोषणा गरेको छ ।
वडाको विकासका लागि राखेको मागहरु पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने निर्णय भएको भागेश्वर गाउँपालिका– ५ का काँग्रेस वडा सभापति जंगबहादुर थापामगरले बताए ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको कमिटीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘वडा कमिटीले समग्र वडाको विकासका लागि राखेका मागहरु विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने र कुनैपनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
यस विषयमा जिल्लाका कुनै पनि नेतासँग वार्ता नगर्ने कमिटीले स्पष्ट पारेको छ । यदि माग सम्बोधन गर्न वार्ता गर्नुपर्ने अवस्था आएमा प्रधानमन्त्री देउवाबाहेक अन्यसँग नगर्ने उनीहरुको अडान छ ।
टिप्पणीहरू