राष्ट्रवादको मुकुण्डो लगाएर ओलीले संविधान कुल्चेको आरोप
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रवादको मुकुण्डो लगाएर आन्दोलनबाट प्राप्त उपलब्धिमाथि आक्रमण गर्ने शक्तिलाई निर्वाचनबाट पाखा लगाउनुपर्ने बताउनुभएको छ ।
सत्ता गठबन्धनले आज काठमाडौँमा आयोजना गरेको बाग्मती प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले अहिलेसम्मका उपलब्धि उल्ट्याउन खोजेको दाबी गर्नुभयो । पौडेलले संविधान जोगाउँदै उपलब्धि रक्षा गर्ने शक्ति एकातिर र मुलुकलाई प्रतिगमनतिर लैजाने शक्ति अर्कोतिर रहेकाले मङ्सिर ४ गतेको निर्वाचनलाई सामान्य रुपमा लिन नहुनेमा जोडसमेत दिनुभयो ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा राष्ट्रपतिसँग मिलेर अहिलेसम्मका उपलब्धि माटोमा मिलाउन खोजेको नेता पौडेलको भनाइ छ ।
संविधान र लोकतन्त्रको रक्षा गर्दै समाज रुपान्तरणका लागि गठबन्धन बनेको बताउनु भएका पौडेलले व्यवस्था बदलिए पनि अवस्था उस्तै रहेको र अवस्था बदल्न सत्ता गठबन्धनले जित्नुपर्ने दाबी गर्नुभयो । जुनसुकै पार्टीका भए पनि गठबन्धनका उम्मेदवारलाई भोट हाल्न उहाँले अपिल गर्नुभएको छ ।
टिप्पणीहरू