लक्ष्मीपूजाको समयमा आगलागी, करोडौंको क्षति
राजधानीमा आज साँझ लक्ष्मीपूजाको समयमा आगलागी भएको छ । तारकेश्वर नगरपालिका ४ स्थित लोलाङ हाइटमा रहेको नारायण कार्कीको घरमा आगलागी भएको हो ।
साँझ ७ बजेबाट लागेको आगोबाट उक्त घरमा रहेको सबिन कार्कीको ब्याम्बो सुज कारखाना, मोटरसाइकल ग्यारेज र रेष्टुरेण्ट जलेर नष्ट भएको बताइएको छ ।
आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा झण्डै डेढ घण्टापछि नियन्त्रणमा आएको हो ।
आगलागी नियन्त्र गर्न सशस्त्र प्रहरी गणको नीलबाराही कीर्तिपुरबाट डिएसपी जनक जङ्ग कार्कीको नेतृत्वमा १५ जना, महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्टको नेतृत्वमा झण्डै डेढ दर्जन र सेनाको नागार्जुन कालीध्वज गणका क्याप्टेन रवीन बुढाथोकीको टोली खटिएको थियो ।
जुद्ध बारूण यन्त्र, नेपाली सेना र कामनपाका गरी पाँच वटा दमकलले झण्डै दुई घण्टामा आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट करोडौंको क्षति भएको बताइएको छ ।
टिप्पणीहरू