म्यान्मारको अवस्था : जंगलमा गाउँले, गाउँमा सेना
म्यान्मारको सगाइँ प्रान्तस्थित मिन्किन नगरका ७२ वर्षीय मिङ म्यो तुंगले झण्डै दुई वर्षदेखि जंगलमै कष्टकर जीवन बिताइरहेका छन् ।
‘कू’ गरेर सत्ता–हातमा लिएको ‘म्यान्मार सेना’ ले मानवबस्तीमा आक्रमण गर्दा तुंगजस्ता लाखौँ बर्मेलीहरू वन–जंगलमै बस्न बाध्य भएका हुन् । सरकारी ‘जुन्ता सैनिक’ र स्वतन्त्र नागरिक समूहबीच ग्रामीण क्षेत्रमा सँधैजसो भिडन्त भइरहेको छ ।
म्यान्मार सेनाले मिन्किन् नगरस्थित युद्धमैदान छेउछाउका बस्तीमा गोली बर्साइरहेको छ । ‘जुन्ता’ सैनिकले चार महिनादेखि अन्य पाँचवटा मानव बस्तीमा सैन्य–हमला गरेको स्थानीय बताउँछन् । आक्रमणपछि रातारात उनीहरू घर छाडेर जङ्गलतिर भाग्न बाध्य भएका हुन् ।
मिन्किन् नगरका ग्रामीण बस्तीमा दर्जनौँपटक सैन्य हमला भइसकेको छ । यहाँका मानिसलाई घरभित्रै बस्नसमेत असहज हुँदै गएको छ कैयौँ स्थानीय जुन्ता सरकारको हमलाबाट घाइते भएका छन् । उनीहरूले उपचारसमेत पाएका छैनन् ।
स्थानीय नागरिकका अनुसार क्रुर सैनिकहरु दिनहुँ बस्तीमा छिर्छन्, आतंक मच्चाउँछन् । घर–घरमा पसेर स्थानीय बासिन्दाको धुईंपत्तोसँग खोजी गर्छन् ।
जनविरोधी जुन्ता सेनाले न बच्चा, न वृद्ध कसैलाई छाडेको छैन । पक्राउ गर्छ, अनि हिरासतमा लैजान्छ । पक्राउ गरेका मानिलाई उनीहरूले कि मार्छन् कि दह्रो पैसा लिएर मात्र छाड्छन् ।
म्यान्मारका प्रायः गाउँ–ठाउँ खाली हुँदै गएको बताइन्छ । गाउँमा बस्न सक्ने अवस्था नै छैन । स्थानीय आफ्नै घरभित्र बस्न पनि डराउँछन् । गाउँछेउमा सैनिक आएको खबर सुन्नेबितिकै उनीहरु भाग्न बाध्य छन् ।
हिजोआज म्यान्मारका जंगलमा पशुपंक्षी भेटिँदैनन्, पीडैपीडामा बाँचिरहेका बर्मेली नागरिक भेटिन्छन् । उनीहरूले जंगलमै अनेकौँ अभाव खपिरहेका छन् । रुख र ओडारमुनि ओत लागेका छन् तर ओछ्याउने कपडाको टुक्रासमेत छैन । उनीहरुको सामुन्ने बाँच्नैपर्ने बाध्यता छ । हिजोको झरीले जीवन झन कठिन बनाएको उनीहरूको दुःखेसो छ ।
म्यान्मारको सरकारी सेना लुटपाट गर्नसमेत अग्रसर छ । घरमा कोही नभएको मौका छोपेर सेनाले सरसामानसमेत उठाउने गरेको छ । बिरामी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको जीवन झन् कष्टकर बन्दै गएको छ । उनीहरू पनि जंगलमै छन् । औषधि सकिएको छ । एक वर्षदेखि खाने कुराको अभाव हुँदा खोले पिएर बस्न बाध्य छन् ।
टिप्पणीहरू