भानुचोकमा फोहोरको डंगुर
हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार हिजोदेखि सकिएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै यो वर्षको तिहारको औपचारिक रुपमा समापन गरिएको छ ।
तर, तिहार प्रारम्भ हुनु अघिदेखि धरानको भानुचोक, घण्टाघरका खाली सडकका छेउछाउ फुटपाथ व्यापारीले भरिभराउ भएको थियो । उनीहरुले पैदल यात्रु हिँड्ने सडक कब्जा गर्दै तिहार लक्षित व्यापार गरेका हुन् ।
उनीहरुले तिहारमा धेरै प्रयोग हुने भाइमसला, फूललगायत सामग्रीको व्यापार गरेका हुन् । काग तिहारको झिसमिसेसँगै शुरु भएको उक्त बजारको व्यापार हिजो बिहानसम्म चलेको थियो । उनीहरुले फूललगायत अन्य व्यापारबाट मनग्ये आम्दानी पनि गरे ।
यसपटकको तिहारमा स्थानीय फूल व्यापारीले फूल बिक्री गरी लाखौं आम्दानी गरेको स्थानीय केशव राई बताउँछन् । व्यापारीहरुले व्यापार गरे तर, उनीहरुले सो क्रममा निस्किएको फोहोरको भने उचित व्यवस्थापन गरेनन् ।
व्यापार सकिएपछि उनीहरू आ–आफ्नो बाटो लागे । झण्डै सात दिन खाजा खान नभ्याएका उनीहरुले नजिकैको फोहोर संकलन भाँडोसम्म पनि फोहोर पुर्याउनुपर्ने आवश्यकता नै देखेनन् ।
व्यापारीहरूले छरपष्ट छाडेका फोहोरबाट अहिले भानुचोक वरपरको वातावरण प्रदुषित बनेको छ । स्थानीयले बिरामी पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । तिहार अघिदेखि छरिएको फोहोरको व्यवस्थापन हालसम्म हुन नसक्दा स्थानीयले आक्रोश व्यक्त गरेका छन् । त्यसबारे स्थानीय उपमहानगरपालिकाले समेत कुनै चासो नदेखाएको उनीहरुको भनाइ छ ।
टिप्पणीहरू