एमालेका सूर्य थापा र जुली महतोसङ्ग मागियो निर्वाचन आयोगद्वारा स्पष्टिकरण
निर्वाचन आयोगले प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्य थापा र एमालेकै धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार जुलीकुमारी महतोसँग स्पस्टिकरण सोधेको छ । थापाले निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले पुर्जी काटिएको हो ।
निर्वाचन आचारसंहिता,२०७९ को दफा १३,राजनीतिक दल,उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरणअन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिका प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेकोमा उम्मेदवार थापा क्षेत्रीले सो प्रावधान उल्लंघन गर्नु निर्वाचन आचारसंहिता उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल रहेको ठहर आयोगले गरेको छ ।
‘तपाईंले निर्वाचन आचारसंहिता विपरीत हुनेगरी निर्वाचन प्रचारप्रसार कार्य गर्नु भएको देखिएकाले यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी स्पस्टिकरण पेश गर्न,’ आयोगले निर्देशन दिएको छ ।
पत्रमा भनिएको छ, ‘तपाईंले निर्वाचन आचारसंहिता, २०७९ दफा १३ को उपदफा १ को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार,प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा किन जानाजान निर्वाचन आचारसंहिता उल्लंघन गर्नुभयो ?’
‘साथै निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ?,’ भनी सोधिएको छ ।
त्यसैगरी आयोगले जुलीकुमारी महतो (महासेठ) सङ्ग पनि स्पस्टिकरण सोधेको छ । तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको फोटो प्राप्त भएकाले सोध्नुपरेको जनाइएको छ ।
उनले पनि निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ड) मा ‘उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने’ व्यवस्थाको उल्लंघन गरेकी हुन् ।
सोही दफाको खण्ड (द) मा ‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने’ व्यवस्था रहेकोमा आफ्नो तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ड) को प्रतिकूल रहेको आयोगले ठहर गरेको हो ।
‘तपाईं नेकपा एमालेको तर्फबाट धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार भई निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी निर्वाचन प्रचारप्रसार गर्ने कार्य गर्नु भएको देखिएको हुँदा यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफँै वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन,’ आयोगले भनेको छ ।
स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा १ को खण्ड (ड) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने कार्य गर्नुभएको हो ?’
दुबै जनालाई सोधिएको स्पष्टीकरणमा निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? सोधिएको छ ।
टिप्पणीहरू