संविधान दिवसमा जेलबाट छुटेका कैदीले गरे अर्काे हत्या

संविधान दिवसमा जेलबाट छुटेका कैदीले गरे अर्काे हत्या

१० वर्ष जेल जीवन बिताएर आएका एक जनाले एक महिनामै अर्काे हत्या गरेका छन् । हत्या आरोपमा नवलपरासीको गैंडाकोट नगरपालिका–७ घर भएका ३४ वर्षीय सुरेशबहादुर कुमाल समातिएका छन् ।

उनले अस्ति राति साढे १० बजे आफ्नै घरबेटी चितवनको माडी नगरपालिका–४, शीतलपुर घोसरी बस्ने ३४ वर्षीय जीवन नेपालीको हत्या गरेका हुन् ।

कुमालले घर परिवारका सदस्य मौका छोपी नेपालीको खुकुरीले पछाडिबाट टाउकोमा प्रहार गरेका थिए । त्यसपछि घाँटीको रुद्रघण्टीमा रेटी विभत्स तरिकाले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कुमालले नेपालीको हत्यापछि ५० मीटरको दूरीमा पर्ने ४० वर्षीया रुपा नेपालीको घरमा गई सुतिरहेकी रुपाले कानमा लगाएको सुनको रिङ कानको लोती समेत च्यातिने गरी लुछेका थिए । त्यसपछि रुपाको पनि घाँटी थिचेको बताइएको छ ।

रुपाको पनि निधन भएको ठानेपछि कुमाल त्यहाँबाट भागेको बताइएको छ । त्यसलगत्तै इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले कुमालको व्यापक खोेजी गरेको हो । माडी नगरपालिका– ३, बसन्तपुरको भित्री सडकमा शंकास्पद रुपमा लुकीछिपी हिँडिरहेको अवस्थामा कुमाललाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

सुरेशलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनले १० वर्ष अगाडि आफ्नै हजुरआमा र काकीको हत्या गरेको कसूरमा नवलपरासी जिल्ला अदालतको आदेशले जन्म कैदको फैसला सुनाएको थियो ।

कुमालविरुद्धको जन्म कैद सजाय गत असोज ३ गते संविधान दिवसको अवसरमा मिनाहा भएको थियो । त्यसपछि कारागार कार्यालय भीमफेदी मकवानपुरबाट कुमाल छुटेका हुन् । जेलबाट छुटेको एक महिनामै अर्काे हत्या गरेका छन् ।

मृतक नेपाली र कुमालको कारागारमा हुँदा चिनजान भएको बताइन्छ । कारागारबाट छुटेपछि कुमाल नेपालीको घरमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।

टिप्पणीहरू