उम्मेदवारी खारेज भएकी घण्टी चिन्हवाली डाक्टरले अदालत गुहार्ने

उम्मेदवारी खारेज भएकी घण्टी चिन्हवाली डाक्टरले अदालत गुहार्ने

रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ की उम्मेदवार डा. तोसिमा कार्कीले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने घोषणा गरेकी छन् ।

ललितपुर क्षेत्र नम्बर ३ बाट घण्टी चिन्ह लिएर उठेकी डा.कार्की आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध अदालत जान लागेकी हुन् ।

प्रतिनिधि सभा निर्वाचनमा एमालेका नवराज सिलवाल र नेपाली काँग्रेसका उदयशमशेर राणासँग चुनावी मैदानमा होमिएकी उनको उम्मेदवारी आयोगले हिजो खारेज गरिदिएको छ ।

नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यसमेत रहेकी उनले बैठक भत्ता र भ्रमण भत्ता लिएको पाइएको आयोगले जनाएको छ ।

काउन्सिलबाट बैठक भत्ता र भ्रमण भत्ता लिइरहेको देखिएकाले डा. कार्कीले सार्वजनिक पद धारण नगरेको र लाभको पदमा बहाल नरहेको भन्ने नदेखिएको आयोगको भनाइ छ ।

एक सचेत र जिम्मेवार उम्मेदवार भएको बताउँदै आफूले निर्वाचन आयोगलाई पत्र लेखेर काउन्सिलको उक्त पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन दिएको उनले बताएकी छन् ।

आफ्नो निवेदनबारे पहिले मौन बसेर अहिले उम्मेदवारी खारेज गर्ने निर्णय गर्नुले आयोगको निष्पक्षतामाथि शंका व्यक्त गरेकी हुन् । उनले यसबारे आयोगमा भदाै २८ गते निवेदन पेश गरेकाे समेत देखाएकी छन् ।

क्षेत्र नम्बर ३ मा आफ्नो पक्षमा राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने तरिकाले आएका निर्णयविरुद्ध अदालत जाने उनले बताएकी हुन् ।

टिप्पणीहरू