मनाङ्गेलाई पनि निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

मनाङ्गेलाई पनि निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवम् मनाङ (ख) का उम्मेदवार राजीव गुरुङ (दीपक मनाङ्गे) लाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा आज आयोगले २४ घण्टे स्पष्टीकरण पत्र बुझाएको छ ।

मनाङ्गेले उम्मेदवारी दिएको मनाङको प्रदेशसभा (ख) मा आयोगले निर्वाचन खर्चको सीमा २३ लाख रुपैयाँ तोकेको छ । तर, उनले ‘३० लाखमा नेपालमा निर्वाचन जित्न नसकिने’ भन्दै एक दिन नोमिनेसन गर्न जाँदा ‘रक्सीमा १५ लाख खर्च भएको’ अभिव्यक्ति दिएको आयोगको भनाइ छ ।

निर्वाचन आचारसंहिताको दफा ४ सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था गरिएको छ । सोहीअनुसार मन्त्री मनाङ्गेलाई आयोगले २४ घण्टाभित्र प्रतिनिधिमार्फत आयोग वा जिल्ला निर्वाचन कार्यालय मनाङमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

निर्वाचनको निम्ति राजनीतिक दल तथा उम्मेदवारको लागि कायम गरिएको खर्चको सीमा गत असोज ३१ गतेको नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ ।

टिप्पणीहरू