कुलेश्वरमा १९ वर्षकी युवतीले पासो लगाइन्
राजधानीको कुलेश्वरमा १९ वर्षीया युवती घाँटीमा डोरीको पासो लगाएर झुण्डिएकी छन् । स्थानीय सामाजिक मार्गमा रहेको राजेश श्रेष्ठको घरमा कोठामा बस्दै आएकी प्युठानकी युवतीले आत्महत्या गरेकी हुन् ।
प्युठान नगरपालिका ७ घर भएकी १९ वर्षकी सम्झना पण्डित आफ्नै कोठामा रहेको सिलिंग पंखामा नाइलनको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा अहिले बिहान फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट फेला परेको छ ।
रोमन अंग्रेजीमा लेखिएको नोटमा उनले आफ्ना जन्म दिने बा र आमासँग असहमति रहेको संकेत गरेकी छन् । उनले नोटको प्रारम्भमा ‘जिन्दगीमा यस्तै भएर बाँच्न नसक्ने वाक्य लेखेको’ बताइएको छ । उनले पढाईमा सोचेको जस्तो नम्बर ल्याउन नसकेर बा,आमालाई खुशी बनाउन नसकेको सन्दर्भ पनि उल्लेख गरेकी छन् ।
“मलाई जन्माएर के नै पाउनुभयो र ? जन्मेर पनि सँधै हजुरलाई आँशु मात्र दिएँ ।’
उनले आफूलाई जन्माएर संसार देखाइदिएकोमा आमालाई धन्यवाद दिएकी छन् । लेखेकी छन्, ‘मलाई जन्माएर के नै पाउनुभयो र ? जन्मेर पनि सँधै हजुरलाई आँशु मात्र दिएँ ।’ आफ्नो कारण आमाले दुःख पाएको भन्दै उनले ‘आगामी पुनर्जन्ममा उहाँकै कोखबाट जन्म लिन पाऊँ’ भनेर नोटमा लेखेकी छन् ।
नोटको पछिल्लो खण्डमा उनले बाबालाई पनि सम्बोधन गरेर लेखेकी छन् । आफूले बाबालाई धेरै पटक चित्त दुखाएको कुरो उल्लेख गर्दै नोटमा भनिएको छ, ‘हजुरले चाहेको जस्तो छोरी हुन सकिनँ । मैले सँधै हजुरलाई टेन्सन दिएँ । अब त्यो टेन्सन कहिल्यै हुने छैन ।’

टिप्पणीहरू