पूर्वमा आचारसंहिता उल्लंघन कति कति,गठबन्धन र एमालेविरुध्द परस्पर उजुरी

पूर्वमा आचारसंहिता उल्लंघन कति कति,गठबन्धन र एमालेविरुध्द परस्पर उजुरी

-कमल भट्टराई

ताप्लेजुङ जिल्लामा पनि निर्वाचन आचारसंहिता उल्लंघनको घटना बढेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हिजोसम्म उम्मेदवारदेखि सञ्चारमाध्यमको विरुध्द निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरु परेका छन् ।

जसअनुसार सत्ता गठबन्धन सम्बद्ध दलअन्तर्गत नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारविरुध्द र एमालेले गठबन्धनका उम्मेदवारविरुद्ध उजुरी दिएका छन् ।

प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारले चुनावी कार्यक्रममा आचारसंहिता विपरितका क्रियाकलाप गरेको आरोप लगाउँदै उनीहरुले उजुरी दिएको बताइएको छ ।

विशेषगरी दल र उम्मेदवारले तोकिएको आकारभन्दा ठूलो ब्यानर, झण्डालगायत सामग्री प्रयोग गरेको, विद्यालयमा आमसभा गरिएकोलगायत विषय उजुरीमा उल्लेख छ । त्यसैगरी दलको चुनावी कार्यक्रमको प्रचार तथा गतिविधिमा सहयोग गरेको, सामाजिक सञ्जालमा सेयर, लाइक र पोष्टगरेका भनी केही सरकारी कर्मचारीविरुद्ध समेत उजुरी परेको छ ।

निश्चित उम्मेदवारको मात्र पक्षपोषण गर्ने खालको सामाचार सामग्री प्रकाशन तथा प्रसारण गरेको आरोप लगाउँदै एभरेष्ट दैनिक डटकम र लोकपाटी डटकमविरुद्ध पनि उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यता सिदिङवा गाउँपालिकाको सादेवामा एमालेले विद्यालयमा आमसभा गरेर आचारसंहिता उल्लंघन गरेको गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले उजुरी दिएको छ । सोही आधारमा एमालेका प्रनिधिसभा सदस्य उम्मेदवार योगेशकुमार भट्टराईलाई स्पष्टीकरण सोधिएको बताइन्छ ।

गठबन्धनतर्फ माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री, नेकपा एकीकृत समाजवादीका निर्वाचन क्षेत्र नम्बर (क) का खेमबहादुर वनेम र नेपाली काँग्रेसका प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर (ख) का उम्मेदवार खगेनसिंह हाङ्गाम समेतलाई एमालेको उजुरीको आधारमा स्पष्टीकरण सोधिएको रेग्मीले जानकारी दिए ।

गठबन्धनमा आवद्ध दलहरुले फुङलिङ नगरपालिकाको फुरुम्बूमा पदम दाहालको घरमा साइनबोर्ड राखेको, फोटोसहितका ठूला व्यानर राखेको तथा अन्य स्थानमा पनि तोकिएको आकारभन्दा ठूला साइजका ब्यानरहरु ठाउँ ठाउँमा राखिएको विषय उल्लेख गरेर एमालेले निर्वाचन आयोगमा उजुरी दर्ता गराएको थियो ।

दलका उम्मेदवारहरुलाई सोधिएको स्पष्टीकरणको जवाफ प्राप्त भएको र त्यसमाथि आवश्यक अध्ययन र अनुसन्धान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उता निर्वाचन आचारसंहिताको कार्यान्वयनकानिम्ति राजनीतिक दल र उम्मेदवारलाई निरन्तर सचेत गराइरहेको समेत कार्यालयको दाबी छ ।

टिप्पणीहरू