विवाहको प्रलोभनमा १८ वर्षीयामाथि करणी, शारीरिक सम्पर्कपछि निर्घात् कुटपिट
सल्यानमा एउटी १८ वर्षीया किशोरीलाई २० वर्षे युवकले करणी गरेका छन् । जबरजस्ती करणी गरेको आरोपमा ती युवकलाई प्रहरीले पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका–३ का २० वर्षीय रेवन्त बुढाले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको बताइएको छ ।
विवाह गर्ने प्रलोभन देखाई बुढाले अस्ति शनिवार बनगाड कुपिण्डे नगरपालिका–१, माल्पेको जंगलमा राति करणी गरेका हुन् । युवतीका अनुसार राति साढे ११ बजे जबरजस्ती करणी गरेपछि उनले ज्यान मार्ने नियतले कुटपिट गरी बेहोस बनाएका थिए ।
त्यहाँबाट भागेका बुढालाई सल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पहिले करणी, त्यसपछि कुटपिटबाट बेहोस भएकी किशोरीको नेपालगञ्जमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुढालाई सल्यान जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइएको छ ।
टिप्पणीहरू