घण्टी चिन्हवाली डाक्टरको उम्मेदवारी कायम राख्न सर्वोच्चको अन्तरिम आदेश
रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी यथावत् कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले उनको पक्षमा फैसला सुनाएको हो ।
ललितपुर क्षेत्र नम्बर ३ बाट घण्टी चिन्ह लिएकी उठेकी उनी नेपाल मेडिकल काउन्सिलको लाभको पदमा रहेको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर, नियमित तलब भत्ता नलिने भएकाले उक्त पद लाभको पद नरहेको बताउँदै डा. कार्कीले हिजो सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् ।
उक्त रिटमाथि सुनुवाई गर्दै जारी आदेशमा भनिएको छ,‘डा. तोसिमा कार्कीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ ललितपुरको उम्मेदवारी अयोग्य हुने गरी निर्वाचन आयोग नेपालले मिति २०७९–७–१२ मा गरेको निर्णय कार्यान्वयन नगर्नु, नगराउनु, निवेदकको उम्मेदवारी खारेज नगर्नु, नगराउनु, निजको उम्मेदवारीसमेतलाई कायम राखी निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’

त्यस्तै, सर्वोच्चले निर्वाचन आयोगसंग लिखित जवाफ पनि माग गरेको छ । आदेश जारी भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।
टिप्पणीहरू