रौतहटको चुनाव र भावी मुख्यमन्त्रीको चर्चा

रौतहटको चुनाव र भावी मुख्यमन्त्रीको चर्चा

रौतहटको निर्वाचन क्षेत्र नम्बर १ (ख ) प्रदेशसभा सदस्यमा कसले बाजी मार्छ भन्ने विषयले अहिले जिल्लामा सबैभन्दा धेरै चर्चा पाएको छ ।

उक्त क्षेत्रमा नेपाली काँग्रेसका कृष्ण यादवलाई भावी मुख्यमन्त्रीका रुपमा प्रचार गरिएका कारण जिल्लाका चार वटा निर्वाचन क्षेत्रमध्ये सो क्षेत्र सर्वाधिक चर्चामा रहेको हो ।

सोही क्षेत्रमा जसपाबाट मधेश प्रदेश सरकारका कृषि राज्यमन्त्री योगेन्द्र यादव पनि उम्मेदवार छन् । उनलाई समेत कार्यकर्ताले भावी मुख्यमन्त्रीका रुपमा प्रचार गर्न थालेका छन् ।

नेपाली काँग्रेस मधेश प्रदेश सभापतिसमेत रहेका कृष्णले प्रदेशमा आफ्नो पार्टीको सरकार बने आफू नै मुख्यमन्त्री हुने बताउँदै आएका छन् । सोहीबमोजिम काँग्रेसले भावी मुख्यमन्त्रीका रुपमा उनको प्रचार प्रसारलाई तीव्र पारेको देखिन्छ ।

प्रदेश सरकारका कृषि राज्यमन्त्री यादवले पनि कृष्णलेझैँ आफू नै मधेश प्रदेशको भावी मुख्यमन्त्री रहेको पटक पटक बताएका छन् ।

काँग्रेस जिल्ला सचिवको जिम्मेवारी त्यागेर एमाले प्रवेश गरेका राजेश चौधरीले अन्तिममा नेकपा एमाले र जसपाबीच चुनावी तालमेल भएका कारण टिकट नपाएका हुन् । उनलाई मनोनयनअघि प्रदेशसभा सदस्यको टिकट दिने वाचासहित एमालेमा प्रवेश गराइएको थियो ।

अहिले उनले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनका कारण मुख्यमन्त्रीका रुपमा प्रस्तुत भएका योगेन्द्र र कृष्ण यादवलाई सकस देखिन थालेको छ ।

व्यापारिक पृष्ठभूमिका चौधरीको स्वतन्त्र उम्मेदवारी दुवै यादवको निम्ति टाउको दुःखाइको विषय बनेको छ । नेकपा एमाले र जसपाबीच सो क्षेत्रमा चुनावी तालमेल भएको छ । तर प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजयकुमार गुप्ता र योगेन्द्र यादवबीच तालमेल हुन नसकेको अवस्था विद्यमान रहेकाले पनि यादवलाई असहज रहेको जानकारहरु बताउँछन् ।

त्यसैगरी काँग्रेस छाडेर एमाले हुँदै स्वतन्त्र उम्मेदवारी दिएका कृष्णका लागि पनि आफ्नै पार्टी छाडेका चौधरी गलपासो बन्ने सम्भावना उत्तिकै छ । सो क्षेत्रका मतदाताको आंकलनअनुसार जसपाका योगेन्द्र र काँग्रेसका कृष्णलाई उनै स्वतन्त्र उम्मेदवार चौधरीले नसोचेको धक्का पुर्याउन सक्छन् ।

चौधरीले भने,‘दुबै यादवलाई टक्कर दिने हिसाबले चुनावी अभियान तीब्र पारेको छु । सके जित्छु, नसके अरुलाई हराउँछु ।’

टिप्पणीहरू