चुनावको मुखमा समाजवादीतिर प्रवेश
काठमाडौं क्षेत्र नम्बर ३ का दुई दर्जन बढी विभिन्न पार्टीसम्बध्द नेता–कार्यकर्ता नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् ।
काठमाडौं क्षेत्र नं. ३ (१) बाट समाजसेवी राजकुमार लामाको नेतृत्वमा भएको पार्टी प्रवेश कार्यक्रममा ३० बढी नेता–कार्यकर्ता समाजवादीमा भित्रिएका हुन् ।
समाजवादीको केन्द्रीय कार्यालय,बानेश्वरमा आयोजित कार्यक्रममा पार्टी महासचिव डा. बेदुराम भुसालले उनीहरुलाई टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै डा. भुसालले भन्नुभयो,‘आगामी निर्वाचनमा प्रतिगामीहरूको गठबन्धनलाई परास्त गर्दै अग्रगमनको पक्षमा रहेका गठबन्धनका उम्मेदवारलाई जिताउनतर्फ लाग्नुपर्छ ।’
त्यस्तै, उहाँले प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढेको गठबन्धनलाई विजयी गराउनु अहिलेको प्रमुख दायित्व भएको बताउनुभएको छ । सम्पूर्ण नेता तथा कार्यकर्तालाई चुनावको भविष्य तय गर्नका लागि गम्भीर भएर लाग्न उहाँले निर्देशन दिनुभएको छ ।
एकीकृत समाजवादी कम्युनिष्ट आन्दोलनको मूलधारको रुपमा अगाडि बढ्ने अपेक्षा राखेको पार्टीमा नवप्रवेशी राजकुमार लामाले बताउनुभयो ।
कार्यक्रममा उपमहासचिव डा. गंगालाल तुलाधर,स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष साबित्रा भुसाल,स्थायी कमिटी सदस्य विश्वनाथ प्याकुरेल,पोलिटब्यूरो सदस्य गोपाल बराल, क्षेत्र नं ३ निर्वाचन परिचालन समितिका अध्यक्ष विश्वनाथ अर्याल लगायतको उपस्थिति थियो ।
क्षेत्र नं ३ का क्षेत्रीय अध्यक्ष दिलिप लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केशव दंगालले गर्नुभएको थियो ।
टिप्पणीहरू