सरकारका तीन सन्तान,आफैँमा हानाहान
आइतवार नेपाल एअरलाइन्सको काठमाडौँ-दिल्ली उडान एकाएक रद्द भयो । यात्रुले बोर्डिङ पास लिइसकेको अवस्थामा हठात् उडान रद्द हुनुको कारण थियो – नागरिक उड्यान प्राधिकरण (क्यान) र नेपाल वायुसेवा निगमका हाकिमहरुको जुङ्गाको लडाई । निगमले आफ्नो निर्देशन अवज्ञा गरेकाले नेपाल एअरलाइन्सको जहाज उडाउन नदिएको भन्ने क्यानको दावी रहे पनि वास्तविकता भने दुई सरकारी निकायबीचको विवाद र हाकिमहरुको संवादहीनता नै मुख्य कारण हो भनिन्छ ।
क्यानले अक्टोबर २१ तारिखमा पत्र लेखेर नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सलाई ३० अक्टोबरदेखि गौतम बुध्द अन्तर्राष्ट्रिय विमानस्थलबाट साताको कम्तिमा एउटा उडान गर्ने गरी फ्लाइट सेड्युल (उडान तालिका) पेश गर्न भनेको थियो । तर,यी दुबै एअर लाइन्सले भैरहवाका लागि तालिका बनाएर पेश गरेनन् । त्यसको पहिलो मारमा राष्ट्रिय ध्वाजावाहक जहाज त पर्यो नै,संगसंगै महिनौंअघि टिकट काटेका यात्रु पनि अलपत्र परे । अन्तिम समयसम्म निगमले पेलपाल गरेरै उडानको प्रयास गर्दा पनि प्राधिकरण टसको मस नभएपछि साढे दुई सय यात्रुलाई तारे होटलमा राख्न बाध्य भयो ।
बाहिरी चर्चा पनि त्यही छ – क्यानले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान थाल्न दिएको आदेश निगमले नमानेका कारण आइतबारको दिल्ली फ्लाइट रोकिएको हो । तर, विभागीय मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने ‘देखाउने र चपाउने दाँत’ फरक देखिएको बताए । उहीँ मन्त्रीद्वारा नियुक्त र उनैद्वारा ८ महिनामै हटाउन खोजिएका निगमका कार्यकारी अध्यक्ष र नागरिक उड्डयन प्राधिकरणका उसैगरी नियुक्त डिजीको व्यर्थको लडाइँले राष्ट्रिय ध्वाजावाहक अनाहक अप्ठेरोमा परेको भन्दै पर्यटन मन्त्रालयका ती सहसचिवले असन्तुष्टीसमेत जनाए । उनका अनुसार अस्ति फ्लाइट रोकिनुमा प्राधिकरण र निगम बराबर दोषी छ । दुबै निकाय जिम्मेवार नहुँदा समस्या परेको हो ।
‘ओरालो लागेको निगमलाई माथि उठाउन के गर्न सकिन्छ भन्ने चिन्ता कसैमा छैन । आ-आफ्नै स्वार्थमा लागेका छन्’, विवादको चुरो खोल्दै मन्त्रालय स्रोत भन्छ, ‘एउटाले अर्कालाई सिध्याउन खोजेको छ । दपेटेको छ । अध्यक्ष र डिजी बोलचालै नगर्ने । अनि कसरी समस्या हल हुन्छ ?’
क्यान स्रोतले भने निगमसँग कुनै भित्री असन्तुष्टि या असमझदारी नरहेको दावी गरेको छ । भैरहवा विमानस्थललाई प्रमोट गर्नका लागि हप्तामा एउटा फ्लाइट दिनुस् भनेको मात्रै हो’, एक कर्मचारीले भने, ‘अरु कुनै विवाद होइन ।’ भैरहवा विमानस्थल राम्रोसँग सन्चालन गर्न कम्तिमा सबैले एउटा-एउटा फ्लाइट दिनुपर्छ भन्ने कुरामा मन्त्रालयमै पटक-पटक छलफल र सहमति भएको र सोहीअनुसार पत्र लेखेर जानकारी गराउँदा पनि अटेर गरेपछि बाध्य भएर उडान रोक्नु परेको क्यानको तर्क छ ।
तर, कम्तिमा एक महिना पहिले नै पत्र पठाउनु पर्नेमा क्यानले हतार गर्दा समस्या सृजना भएको भन्दै मन्त्रालय स्रोतले भन्यो, ‘सात दिनको समय पर्याप्त हुँदैन,कम्तिमा १५ दिन,नत्र एक महिना समय दिएर पत्र पठाउनुपर्थ्यो । हामीसँग छलफल हुँदा पनि त्यही कुरा भएको हो । तर, दुई अड्डाका हाकिमहरु संवाद नै नगर्ने भएपछि कुरा कसरी मिल्छ ?’
क्यान अझै पनि भैरहवाका लागि फ्लाइट प्लान पेश नगर्दासम्म उडान नदिने अडानमा छ । निगमले भने एक महिनाको समय माग्दै यसै साताभित्र सेड्युल बुझाउन बाध्य हुँदैछ । दुबै निकायको अडान कायम रहिरहे के हुन्छ ? ‘निगमले यथासक्य छिटो फ्लाइट प्लान पेश गर्ने अनि क्यानले अहिलेका लागि नियमित फ्लाइट नरोक्ने गरी सहमति खोज्न मन्त्रालयले भनेको हो । तर, उनीहरुका आ-आफ्नै अडान छन्, के हुन्छ थाहा छैन’, पर्यटनका ती कर्मचारीले सुनाए ।
यता निगमको हेल्चेक्र्याईको कुरा गरिसाध्य छैन । हालैमात्रै निगमको एउटा जहाज चार्टर्ड फ्लाइटमा नेपाली सेनाको डफ्फा बोकेर माली पुगेको थियो । भोलिपल्टै फर्किनुपर्ने जहाज पछाडिको टायर पड्केर ९ दिन ग्राउन्डेड भयो । टायर फेर्नसमेत ९ दिन किन ? ‘त्यहाँ रेगुलर फ्लाइट छैन, टायर पठाउन चार्टर्ड फ्लाइट नै कुर्नुपर्थ्यो त्यसैले ढिला भयो’, दिक्क मान्दै मन्त्रालयका तिनै कर्मचारीले भने ।
एकातिर नियमनकारी निकायहरुबीच समन्वय नहुने, अर्कोतिर निगमको आफ्नै आन्तरिक व्यवस्थापन निकै कमजोर । त्यसमाथि कहिल्यै माथि उठ्न नसक्ने राष्ट्रिय ध्वजावाहक अब कसरी उँभो लाग्ला ?
टिप्पणीहरू