एअरपोर्टबाट भागेका पाण्डेको लगेज र पासपोर्ट कब्जामा

एअरपोर्टबाट भागेका पाण्डेको लगेज र पासपोर्ट कब्जामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश उड्न लागेका ठगी मुद्दाका आरोपी नुवाकोटका श्याम पाण्डेलाई मिलेमतोमा भगाएको आरोप लागेका अध्यागमन विभागका कर्मचारीमाथि छानविन हुने भएको छ । अध्यागमनको कब्जामा परिसकेका ब्ल्याक लिष्टेड व्यक्ति प्रहरी र त्यहाँका कर्मचारीलाई छक्याएर भाग्न सफल भएपछि घटनालाई गम्भीररुपमा लिँदै विभागले छानविन गर्न लागेको हो ।

८ महिनादेखि विमानस्थलभित्र अध्यागमन डेस्कमा कार्यरत कर्मचारी सन्तोष सुवेदीमाथि पाण्डेलाई जानाजान भगाएको आरोप लागेको छ । बताइएअनुसार पाण्डे र सुवेदी चिनजानका साथी हुन् । त्यही सम्बन्धका कारण उनले भगाएको हुनसक्ने आशंकामा सुवेदीमाथि छानविन गरेर आवश्यक कारवाही गर्न विभागले प्रक्रिया थालेको बुझिएको छ ।

पाण्डेविरुध्द वैदेशिक रोजगार विभागमा ठगीको उजुरी परेको थियो । विदेश पठाइदिने भन्दै धेरैसँग मोटो रकम लिएर काम नगरेको उनीमाथि आरोप छ । त्यही उजुरीका आधारमा विभागले अध्यागमनलाई पत्र लेखेर विदेश जान नपाउने गरी कालोसूचीमा राख्न भनेको थियो । तर, प्रहरीको चेकिङ छल्दै अध्यागमनसम्म पुग्न सफल भएका पाण्डे त्यहाँबाट उम्कन त सकेनन् तथापि अध्यागमनका कर्मचारीको लापरवाहीका कारण भाग्न सफल भए ।

“डिपार्चरपछि अध्यागमन डेस्कसम्म पुग्न प्रहरीको दुई वटा चेकिङ पार गर्नुपर्ने हुन्छ । सामान्य मान्छेलाई बोर्डिंग पास या भिजिटर पास नदेखाई प्रहरीले छोड्दैन । तर, पाण्डे अध्यागमनसम्म पुग्न र फेरि बाहिर निस्कन कसरी सफल भए ?”

‘यस्तो केशमा अध्यागमनले प्रहरीलाई बुझाउनु पर्ने हो । तर, हाम्रै कर्मचारीको लापरवाहीले उनी बाहिर निस्कन सफल भए । यसमा अरुलाई दोष दिने कुरा छैन । कमजोरी हाम्रै हो’, विभागको उच्च तहका एक कर्मचारीले भने ।

उनका अनुसार सुवेदीले शुरुमा पाण्डेलाई स्वागत गरेका थिए । त्यसपछि सुवेदीले नै सहजीकरण गरिदिने भन्दै पाण्डेलाई डेस्कमा लगेका हुन् । त्यहाँ पुगेपछि आफू कालोसूचीमा रहेको थाहा पाएका उनी भाग्ने उपाय खोज्न थाले । सुवेदीसहितका कर्मचारीहरु यसबारे थप भेरिफाइ खोज्न लागेका बेला पासपोर्ट र लगेज त्यहीँ छोडेर पाण्डे फुत्किएको ती कर्मचारीले बताए ।

दैनिक सात हजार मानिस बाहिरिने र पाँच हजार नेपाल भित्रिने व्यस्त एअरपोर्टमा ब्ल्याक लिष्टेड व्यक्ति यसरी सबैलाई छक्याउँदै भाग्न सफल भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । किनभने डिपार्चरपछि अध्यागमन डेस्कसम्म पुग्न प्रहरीको दुई वटा चेकिङ पार गर्नुपर्ने हुन्छ । सामान्य मान्छेलाई बोर्डिंग पास या भिजिटर पास नदेखाई प्रहरीले छोड्दैन । तर, पाण्डे अध्यागमनसम्म पुग्न र फेरि बाहिर निस्कन कसरी सफल भए ?

अध्यागमन विभागका अनुसार सिसिटिभी फुटेज हेर्दा प्रहरीलाई केही भनेर फुत्त निस्केको देखिन्छ । अहिले पाण्डेको लगेज एअरलाइन्सको कब्जामा छ भने पासपोर्ट अध्यागमनको ।

टिप्पणीहरू