एमालेमा मान्छे फर्काउँदै गल्ती सच्याउने बिश्वास
नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश कमिटी सदस्य रमेश पौडेलसहित जिल्लास्तरीय नेता, कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् ।
पौडेलसहित अनेमसंघकी नेतृ मीरा पौडेल,अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य अबिचल पौडेल, नेताहरु राजेन्द्रप्रसाद पौडेल,गंगा श्रेष्ठ,रामदास सुवाल,सुनिल लामा लगायत एमालेमा फर्किएको बताइएको छ । यस्तै बेथानचोक गाउँपालिकाका नेता भीम लामा नेकपा माओवादी केन्द्र त्यागेर एमालेमा फर्किएको जानकारी दिइएको छ ।
नेता पौडेलले आफूहरु पदका लागि एमालेमा फर्केको नभई विगतमा असहमति रहेका कतिपय राजनीतिक विषय अहिले असान्दर्भिक भएको,राष्ट्रियताको सम्बर्धन,कम्युनिष्ट आन्दोलनको रक्षा र विकासको निम्ति सबल एमाले पार्टीको अपरिहार्यता रहेको महसुस गर्दै एमालेमा आएको बताएका छन् ।
उनीहरुले पार्टीले विगतका नीति,कार्यक्रम,कार्यदिशा र कार्यशैलीको समीक्षा गर्दै सही नीति, कार्यक्रम र कार्यदिशाको निरन्तरता र भएका गल्ती कमजोरीहरू सुधार गर्दै जाने अपेक्षासहित विनाशर्त पुनः एमालेमा प्रवेश गरिएको दावी पनि गरेका छन् ।
एमाले नेता गोकुल बाँस्कोटाले पौडेलसहितका नेता एमालेमा फर्कनुले देशभरका कम्युनिष्टहरुलाई मूलधारमा फर्कनुपर्ने सन्देश गएको बताए । प्रवेशीहरुले समयक्रममा पार्टी र अन्य मोर्चामा जिम्मेवारी प्राप्त गर्ने बाँस्कोटाको भनाइ छ । एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जुले यस खाले प्रवेशबाट अब राष्ट्रियता र समृध्दिको आन्दोलन थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन् ।
टिप्पणीहरू