डेंगुका कारण माल्टामा नेपाली युवतीको निधन,अस्पतालमा ४० लाखको बील
डेंगु संक्रमणबाट युरोपेली मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ । रोजगारीको निम्ति एक महिनाअघि त्यहाँ पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारको क्रममा निधन भएको बताइएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार बिनिताको आज बिहान स्थानीय समयअनुसार साढे ४ बजे निधन भएको हो ।
माल्टा पुगेको भोलिपल्टदेखि बिनिताको स्वास्थ्यमा समस्या देखिएको थियो । डाक्टरले चेकजाँच गर्ने क्रममा उनमा डेंगुको संक्रमण पुष्टि भएपछि माल्टाको सरकारी अस्पतालमा उपचार भइरहेको थियो ।
अध्यक्ष अर्यालका अनुसार बिनिताको स्वास्थ्य बीमा नभएकाले अस्पतालमा ३० हजार युरो बराबरको बिल उठेको छ । त्यो भनेको झण्डै ४० लाख नेपाली रुपैयाँ हुन आउँछ ।
बिनिताले कम्पनीमा काम नथालेको अवस्थामा रोजगारदाताले उपचार खर्च तिर्छ वा तिर्दैन भन्ने यकिन पनि भइसकेको छैन । यद्यपि कम्पनी व्यवस्थापनले उनको निधनप्रति दुःख व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता भने जनाएको छ ।
टिप्पणीहरू