सिक्किमदेखि दार्जिलिङसम्मका गुरुहरु पाँचथर पुगेर मौन
शान्ति र अहिंसाविरुद्ध सन्देश दिने उद्देश्यले पाँचथरस्थित आगेजुङ साङ्छ्यो गुम्बाका बौद्ध गुरुहरू मौन ब्रत बसेका छन् । सिक्किम, दार्जिलिङलगायत नेपालकासमेत एक सय ५० भन्दा धेरै बौद्ध गुरुहरुले तीन दिन मौन ब्रत बसेर शान्ति र अहिंसाका पक्षमा प्रार्थना गरेका छन् ।
यसरी निराहार ब्रत बस्दा मानव जातिबाट अज्ञानतावश हत्या भएका जीवात्मासँग क्षमा माग्नुका साथै उनीहरूको आत्ममोक्षका लागि प्रार्थनासमेत गरिने प्रमुख लामा गुरु भिक्षु तेन्जिङले जानकारी दिए ।
गुम्बामा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको छेको पारेर मौन ब्रत बस्दै बौद्ध धर्म संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । विगतका तीन वर्ष भने कोरोना भाइरस संक्रमणका कारण उक्त कार्यक्रम स्थगित गरिएको थियो । मुलुकमा स्थायी शान्तिको कामना गर्न विभिन्न स्थानबाट ६० भन्दा धेरै लामा गुरुहरू आगेजुङ गुम्बामा भेला भएका छन् ।
जिल्लाको फालेलुङ गाउँपालिकामा पर्ने उक्त गुम्बामा २०५८ सालसम्म बौद्ध धर्म दर्शन र त्रिपिटक अध्यापन गराइन्थ्यो । द्वन्द्वकालपछि भने पठन पाठन प्रभावित भएको गुम्बाका अध्यक्ष लामा तेन्जीको अनुभव छ ।
टिप्पणीहरू