एमालेको इज्जत,लिङ्देनको दौरा सुरुवाल र द्रौपदीको चीर हरण
एमाले अध्यक्ष केपी शर्मा ओलीले भाइटीकाको भोलिपल्टै गृह जिल्ला झापा पुगेर एमालेजनलाई नै अचम्म हुनेगरी भनिदिनुभयो,‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको हार वा जीतसँग एमालेको इज्जत जोडिएको छ ।’
झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट उठेका लिङ्देनले हार्नै नहुने र उनले हार्दा ‘बा’ को इज्जत सकिने भनिएपछि एमालेका छोरा र नाती पुस्ता विलखबन्दमा परेका छन् । अध्यक्ष ओली झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा उम्मेदवार हुनुहुन्छ ।
यसअघि २०७४ को निर्वाचनमा समेत उहाँहरुबीच तालमेल हुँदा दुबै जना विजयी हुनुभएको थियो । यस पटक पनि एमालेले लिङ्देनलाई र राप्रपाले ओलीलाई मतदान नगर्ने हो भने पराजय सुनिश्चित छ । पटक पटक राप्रपा उम्मेदवारलाई स्थानीय तहदेखि संसदसम्म जिताउनुपर्दा आफ्नो राजनीतिक भविष्य र संगठन ध्वस्त भएको बुझेपछि अहिले झापा-३ र ५ मा एमालेभित्र भुसको आगो सल्किएको छ ।
झापा ३ मा विद्रोह गरेर एमाले जिल्ला कमिटीका पूर्व सचिवालय सदस्य डम्बर गिरीले सूर्यमूखी चिन्ह लिएका छन् । हलो होइन सूर्य,सूर्य नभए सूर्यमूखी भन्दै चुनावी प्रचार थालिएपछि अध्यक्ष ओली कात्तिक ११ गते एकाएक झापा पुगेर निर्वाचन क्षेत्र नम्बर ३ का एमाले नेता तथा कार्यकर्तालाई चेतावनीपूर्ण शैलीमा हलोमा मतदान गर्न आदेश दिनुभएको थियो । त्यसो नगर्दा आफ्नो क्षेत्रका हलोका मतदाताले सूर्यमा मतदान नगर्ने स्पष्ट छ ।
झापामा एमालेको इज्जतका लागि पनि राजेन्द्रलाई जिताउनुपर्छ भन्ने उहाँको अभिव्यक्ति लिङ्देनलाई जिताएर आफू पनि जित्नुपर्यो भन्ने आशय भएको सबैले बुझेका छन् । दमकमा क्यारम बोर्ड खेल्नेहरुसमेत भन्दैछन्, ‘बाले राजनीतिक टंकी हान्नुभयो । यताको गोटी खसाल्न रिटर्न अर्थात् टंकी हाने झैँ आफ्नो बाकसमा सूर्यको भोट झार्न हलोमा टंकी हान्नुभएको हो ।’
एमालेको इज्जत अब राजेन्द्रको जीत वा हारसङ्ग जोडिएको हो ? भनेर जनआस्थाको जिज्ञासामा झापाका एक जना एमाले नेताले बताए, ‘लिङ्देनले चुनाव हारे भने एमालेको इज्जत किन जाने ? के राजेन्द्रको दौराको फेर खस्नु र द्रौपदीको चीर हरण उस्तै हो ? त्यसो हो भने एमालेको इज्जत लिङ्देनको ईंजारमा अड्किएको अर्थ लगाए भइहाल्यो नि !’
टिप्पणीहरू