हुलाई यसर्थ गलहत्याइएछ हलबाट

हुलाई यसर्थ गलहत्याइएछ हलबाट

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशन सम्पन्न भएको २ हप्ता बितिसक्यो र पनि महाधिवेशन समापन समारोहको एउटा अनौठो फुटेज अन्तर्राष्ट्रिय टेलिभिजनहरूले प्रसारण गरिरहेकै छन् । पूर्व राष्ट्रपति तथा सीपीसीको १६ औँ र १७ औँ महाधिवेशनबाट महासचिव चयन भएका हु चिन्थाओलाई सभाकक्षबाट बाहिर निकालिएको दृश्य उक्त फुटेजमा रहेको छ । झण्डै ३ मीनेटको फुटेजमा भएका संवादहरू स्पष्ट छैनन् तर हुको इच्छाविपरीत समारोह स्थलबाट निकालिएको र उनले टिपोट गरेको कुरालाई आफूसँगै लान नदिएको चाहिँ स्पष्ट हुन्छ ।

यसबारे चीनको कुनै आधिकारिक निकायले स्पष्ट पारेको छैन । अनौपचारिक रूपमा केही चिनियाँ बुद्धिजीवी स्वास्थ्य र उमेरका कारण निकालिएको बताउँछन् । तर, कुरा त्यति विश्वासयोग्य मानिँदैन । जनआस्थालाई केही चिनियाँ विश्लेषकले बताएअनुसार उद्घाटन सत्रमा प्रस्तुत प्रतिवेदनले हुको कार्यकाललाई अत्यन्त कडा रूपमा आलोचना गरेको छ । आफ्नो कार्यकाललाई बंग्याइएको, लाञ्छना लगाइएको, झुटा आरोप लगाएर जनतालाई गुमराहमा पारेको, आफ्नो योगदानलाई तहसनहस बनाइएको, पूर्ववर्ती नेतृत्वलाई बदनाम गरिएको भन्दै हु चिन्थाओले असन्तुष्टि पोखेका थिए । उनी ती कुराहरू प्रतिवेदनबाट हटाउनु पर्ने अडान राखेर फरक मत दर्ज गर्न चाहन्थे । तर महाधिवेशनमा उनी आमन्त्रित अतिथि मात्र थिए । पार्टीभित्र पदीय दायित्व केही थिएन । समापन समारोहमा पनि त्यही कुरा बारम्बार राखेकाले हलबाट निकालिएको हो । हु चिन्थाओले गम्भीर असन्तुष्टि र आपत्ति प्रकट गरेको कुरा के थियो त प्रतिवेदनमा ? जनआस्थाले प्रतिवेदनभित्र रहेको उक्त अंशको विश्लेषण गरेको छ ।

सी चिनफिङले प्रस्तुत गरेको प्रतिवेदनमा हु चिन्थाओको कार्यकाल (सन् २००२ देखि २०१२ सम्म) लाई चीनको सबैभन्दा दुर्भाग्यपूर्ण समय भनेर आलोचना गरिएको छ । भनिएको छ : ‘एक दशकपहिले हामीले सामना गरेको अवस्था यस्तो थियो : सुधार, खुलापन र समाजवादी आधुनिकीकरणमा ठूला उपलब्धिहरू हासिल भएका थिए र पार्टी निर्माणको महान् नयाँ परियोजनामा उल्लेखनीय प्रगतिहरू हात लागेका थिए । यी सबैले हाम्रो निरन्तर प्रगतिका लागि ठोस आधारहरू, अनुकूल परिस्थितिहरू र मुख्य आधारहरू सिर्जना गरेका थिए । तथापि, उही समयमा, धेरै प्रमुख मुद्दाहरू र समस्याहरू – जसमध्ये केही वर्षौंदेखि निर्माण भइरहेका थिए र अन्यहरू भर्खरै देखा पर्दै थिए । त्यस्ता क्षेत्रले तत्काल कारबाहीको माग गरेका थिए ।

प्रतिवेदनमा हु चिन्थाओको कार्यकालमा मूलतः चिनियाँ कम्युनिष्ट पार्टी र समग्र देशलाई नै विकराल समस्याहरूले जकडेको विश्लेषण गरिएको छ । ती समस्यालाई प्रतिवेदनमा यसरी औँल्याइएको छ – ‘पार्टीभित्र नेतृत्वलाई कायम राख्ने सन्दर्भमा धेरै मुद्दा थिए, जसमा स्पष्ट बुझाइ र प्रभावकारी कार्यको अभावका साथै व्यवहारमा कमजोर, खोक्रो र तरल पार्टी नेतृत्वतर्फको ढिलाइ पनि समावेश थियो । कतिपय पार्टी सदस्य र पदाधिकारीहरू आफ्नो राजनीतिक विश्वासमा डग्मगिरहेका थिए । बारम्बार चेतावनी दिए पनि कतिपय स्थानीय तह र विभागमा निरर्थक औपचारिकता, नोकरशाहीतन्त्र, विलासवादी र अतिक्रमण कायमै थियो । विशेषाधिकार खोज्ने मानसिकता र अभ्यासहरूले एक गम्भीर समस्या खडा ग¥यो र भ्रष्टाचारका केही गहिरा चकित पार्ने घटनाहरू पर्दाफाश भए ।’

उल्लिखित प्रसंगले चिनियाँ कम्युनिष्ट पार्टीभित्र भ्रष्टाचार मौलाएको, नेताहरूले विलासी जीवन जिउने गरेको, काममा ढिलासुस्ती बढेको, सुधारलाई औपचारिकतामा मात्र सीमित गरेको ठह¥याएको छ । सीपीसीका कुनै पनि प्रतिवेदनमा पूर्ववर्ती नेतृत्वको यस्तो कडा आलोचना गरिएको शायद यो पहिलोपटक हो । पार्टीभित्रको समस्याले चिनियाँ अर्थतन्त्र र शासन व्यवस्थामै गम्भीर समस्या पैदा गराएको भन्दै प्रतिवेदनमा लेखिएको छ– ‘चीनको अर्थतन्त्र गम्भीर संरचनात्मक र संस्थागत समस्याहरूले घेरिएको थियो । विकास असन्तुलित, असंगत र दिगो रह्यो तथा परम्परागत विकास मोडलले हामीलाई अगाडि बढाउन सकेन । संस्थाहरूमा केही गहिरा समस्याहरू र निहित स्वार्थहरूले निर्माण गरेका अवरोधहरू झन्–झन् बढ्दै गएका थिए । केही मानिसलाई चिनियाँ विशेषताहरू भएको समाजवादी राजनीतिक प्रणालीमा विश्वासको कमी थियो । प्रायः कानुनलाई बेवास्ता गरिएको वा कडाइका साथ लागु नगरिएको अवस्था हामीले देख्यौँ ।

पैसाको उपासना, विलासवादमा रमाउने प्रवृत्ति, अहंकेन्द्रित र ऐतिहासिक शून्यवाद जस्ता सोचका भ्रामक ढाँचाहरू विद्यमान थिए । अनलाइन प्रवचन विकारको साथ व्याप्त थियो । यी सबैले जनताको सोच र जनमतको वातावरणमा गहिरो प्रभाव पारेका थिए । जनताको हित सुनिश्चित गर्ने हाम्रो काम कमजोर जडानहरूले भरिएको थियो । स्रोत र वातावरणीय अवरोधहरू र वातावरणीय प्रदुषणलाई कडा पारिएको थियो ।’ सी चिनफिङ सत्तामा आउनुअगाडिको दशकमा चीनको राष्ट्रिय सुरक्षा नै धरापमा परेको अत्यन्त कडा र अत्यन्त संवेदनशील तथ्यसमेत प्रतिवेदनमा राखिएको छ । भनिएको छ ‘राष्ट्रिय सुरक्षाको रक्षा गर्ने प्रणालीहरू अपर्याप्त थिए र विभिन्न ठूला जोखिमहरूको सामना गर्न हाम्रो क्षमता अपर्याप्त थियो । धेरै कमजोरीहरूले राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई असर गरिरहेको थियो ।’ हङकङ र मकाउमा एक देश, दुई प्रणालीको नीति लागु गर्ने संस्था र संयन्त्रहरू राम्रोसँग विकसित हुन सकेनन् र चीनले आफ्नो राष्ट्रिय सुरक्षामा गम्भीर चुनौतीहरूको सामना ग¥यो ।

सन् २०१२ मा आफू महासचिव भएपछि सीपीसीभित्र व्यापक सुधार गर्दै देशलाई सशक्त बनाएको कुरा सी चिनफिङले प्रतिवेदनमा उल्लेख गरेका छन् । ती अवरोधहरूलाई हटाएर सुव्यवस्था कायम गर्नका लागि सी चिनफिङले गरेको सुधारबारे प्रतिवेदनमा यसरी लेखिएको छ– ‘त्यतिबेला हामीभित्र र बाहिरका धेरै मानिस पार्टी र देशको भविष्यबारे चिन्तित थिए । पार्टीको दीर्घकालीन शासन, देशको सुरक्षा र स्थायित्व तथा जनताको हितलाई कमजोर पार्ने यी गम्भीर समस्या र चुनौतिहरूको सामना गर्दै केन्द्रीय समितिले परिस्थितिको पूर्ण मूल्याङ्कन ग¥यो । विभिन्न चरणमा दृढतापूर्वक निर्णय लिइयो । यसको नेतृत्वमा सम्पूर्ण पार्टी, सेना र चिनियाँ जनतालाई एकै ठाउँमा ल्याइयो । हामी पाखुरा सुर्किएर काममा लाग्यौँ । हाम्रो समयका धेरै नयाँ सुविधाहरूको साथ ठूलो सङ्घर्ष गर्ने संकल्पका साथ अगाडि बढ्यौँ ।’

टिप्पणीहरू