चुनावको नाममै चटक

चुनावको नाममै चटक

कर्मचारी र आयुक्तहरू केही लाख कमाउने ध्याउन्नमा लाग्दा एकपछि अर्काे बदनामी कमाउँदै छ, बहादुर भवनले । लक्ष्मी पूजा (७ कात्तिक) को अघिल्लो दिन एक जना आयुक्तको गलत निर्णयका कारण बदनामीमा मुछिएर १२ घण्टा नबित्दै ‘ब्याक’ हुनुपरेको आयोग फेरि मुछिएको छ चोरी काण्डमा ।

बदर मत संख्या घटाउनेतर्फ केन्द्रित रहेर सोहीअनुसारको गतिविधिमा लाग्नुपर्ने आयुक्तलाई कहिले आफैं गीत गाउने त कहिले नाच्ने रहर जागेपछि उनको मातहतमा रहेको मतदाता शिक्षा केन्द्रीय संयोजन समितिका एकपछि अर्काे निर्णय विवादमा तानिँदै गएका छन् । यसको संयोजकको भूमिकामा छिन् जानकी तुलाधर, सोही समितिको सक्रियतामा लक्ष्मीपूजाको अघिल्लो दिन १ मीनेट ०७ सेकेण्ड लामो ‘हाम्रो देशमा फेरि पनि चुनाव आएको छ, देशैभरि चुनावको लहर छाएको छ’ भिडिओ सार्वजनिक भयो । सुर, लय र ताल नमिलेको गीतको चौतर्फी आलोचना भएपछि १२ घण्टा नबित्दै आयोगले त्यसलाई उडायो र माफी माग्दै विज्ञप्ति हाल्यो ।

हेम सुवेदी र उनकी पत्नी आकृति घिमिरेले गाएको सो गीतमा आयुक्त तुलाधरले समेत स्वर मिसाएको आयोगका उच्च अधिकारीले जनआस्थालाई बताए । सो गीतमा कम्प्युटर अधिकृत सुमन घिमिरे दौरासुरुवाल लगाएर नाचेका छन् । सो गीत उनै घिमिरेलाई लेख्न लगाइएको र उनका नातेदार हेम सुवेदी रहेको थोरैलाई मात्र थाहा छ । गीतमा आयोगकै नासु र उपसचिव नाचेका छन् । सो गीतको भिडियो निर्माण गर्ने नाममा मात्रै ७ लाख खर्च लागेको छ । ख्यातिप्राप्त कलाकारलाई गीत गाउन लगाउने र भिडिओ बनाउने तयारी भइरहेको थियो तर आयुक्त तुलाधरले सुटुक्क यो जिम्मेवारी अरूलाई दिँदा आयोग विवादमा फस्न पुग्यो ।

यो प्रकरणबाट आयुक्तले पाठ सिक्नुपर्ने हो तर साता नबित्दै फेरि चोरी काण्ड भएको छ । अस्ति सोमबार आयोगले अर्काे एउटा भिडियो सार्वजनिक गरेको छ १ मीनेट २ सेकेण्डको । दिनेश डिसीको आवाजमा ‘आज पनि सान्दर्भिक एउटा नीतिकथाः जब शिवजीले तथास्तु भने….’नामक महिषासुर र महादेवको भिडियो सामग्रीसमेत हिन्दी भाषाको श्रव्यदृश्य सामग्रीबाट कपिपेष्ट गरिएको र उक्त भिडियो प्रमिला मिडिया आर्टसले बनाएको सामग्रीसँग हुबहु मिलेको देखिन्छ ।

खासमा तुलाधर नेतृत्वको संयन्त्रले निर्वाचनका लागि मतदाता शिक्षा दिने गरी काम गर्नुपर्ने हो । गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा आयोगले निर्वाचन शिक्षाका लागि करिब २५ करोड रूपैयाँ बजेट विनियोजन गर्दा कूल बदर मत १३.२५ प्रतिशत मत रहेको थियो । यसपटक संघीय तथा प्रदेश सभाका लागि ५० करोड हाराहारी बजेट राखिएको छ । पाँच वर्षअघि ०७४ मा यो शीर्षकअन्तर्गत १ अर्ब ५० करोड बजेट छुट्टाइँदा १० लाख ४३ हजार मत बदर भएको थियो । त्यो भनेको कूल खसेको मतको ९.८४ प्रतिशत हो । प्रदेश सभातर्फ १५ लाख ६८ हजार १ सय ९१ मत बदर भएको थियो त्यतिबेला ।

यस्तो बदर मत २०४८ मा ३ लाख २ हजार २३, मध्यावधि निर्वाचन ०५१ मा २ लाख ४१ हजार ७१, २०५६ मा २ लाख ४४ हजार ९ सय २ मत,०६४ मा प्रत्यक्षतर्फ ५ लाख ६० हजार र ०७० सालमा ४ लाख ७१ हजार थियो तर बदर मत हटाउनका लागि मतदाता शिक्षामा लगानी गर्नुपर्ने पैसाले आयुक्तहरू आफैं गीत गाउन र नाच्नमा केन्द्रित भइरहेको आरोप छ । अझै आयोगले टिकटक बनाएर उत्कृष्ट नाच्नेलाई ५० हजार पुरस्कार दिने घोषणासम्म गर्न भ्याएको छ । यसैलाई भन्छन् होला– टाउकोको दुखाई, नाइटोको दबाइ ।

टिप्पणीहरू