संसद्भित्र हिजोआज जे सुनिँदै छ

संसद्भित्र हिजोआज जे सुनिँदै छ

– शेखर बस्नेत

आगामी संसद कस्तो बन्ला ? कुन दलका कति मान्य आउलान् ? प्रतिनिधिसभा खाली भए पनि कर्मचारीले चलाउने संसद सचिवालय जसोतसो चलेकै छ । काम नपाएर अहिले ती कर्मचारी यिनै कुराको आँकलन गर्दै दिन काटिरहेका छन् ।

सोमबार दिउँसो उनीहरूले कार्यालयमा बसेर औंला भाँच्दै लगाएको अनुमानअनुसार, अहिलेसम्मको ‘ठूलो’ भनिने दल एमालेले प्रत्यक्षमा बढी जिते ३० हो । माओवादीको पनि २५ आउँदा कांग्रेसले उम्मेदवारी दिएको ९२ मध्ये ६५ माथिको परिणाम ल्याउने अनुमान गरिरहेका छन् । त्यसमध्ये एमाले र कांग्रेसले ल्याउने मतका आधारमा कांग्रेस पहिलो र एमाले दोस्रो हुने उनीहरूको ठम्याई छ । अर्थात्, यसचोटि कांग्रेस झण्डैझण्डै ०४८ को जस्तै सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना छ । एकीकृत समाजवादीलाई गठबन्धनले साँच्चै साथ दिँदा प्रत्यक्षतर्फ ८ देखि ११ सीट, लोसपाले पाएका सातमध्ये ३, जनमोर्चा दुई, लिङ्देन राप्रपाको २ र नेमकिपाको एक सीट आउने उनीहरूको अनुमान छ ।

जसपाले ४ सीट जिते जित्यो, नत्र भन्न नसकिने उनीहरूको ठहर छ । किनभने, एमालेसँग उनीहरूको भोट ट्रान्सफर हुने सम्भावना न्यून छ । त्यसमाथि जहाँ–जहाँ जसपाका लागि क्षेत्र छोडेको छ, त्यहाँ–त्यहाँ एमालेले समस्या खडा गरिदिनाले जसपा पनि आफ्नो पकड क्षेत्र मधेस प्रदेशमा एमालेलाई सघाउने अवस्थामा छैन । यस्तो हुँदा मधेसमा एमाले लगभग २–३ सीटमा सीमित हुने अनुमान संसद सचिवालयका कर्मचारीले गरेका छन् । उनीहरू सिरहा– २ बाट लीलानाथ श्रेष्ठ र धनुषाबाट रघुवीर महासेठ जोडीका १ जनाबाहेक अरुले ढुक्कसँग जित्ने प्रष्ट सम्भावना देखिरहेका छैनन् ।

एमालेबाट त्यहीँका शेरबहादुर तामाङ र कांग्रेसबाट अर्को क्षेत्रको पाहुना बनेर मोहन बस्नेतले चुनाव लडिरहेको सिन्धुपाल्चोक– १ मा एमाले कमजोर बनेको छ । त्यहाँ गत स्थानीय निर्वाचनको वडागत मतका आधारमा कांग्रेस एक्लैले ३० हजार ल्याएको छ भने एमालेको २९ र माओवादी केन्द्रका १६ हजार छन् । अभद्र छविका कारण मोहन बस्नेतको मत पाँच हजारले काटिए पनि उनले जित्ने स्थिति ती कर्मचारीले देखेका छन् । यस आधारमा पनि त्यहाँ सत्ता गठबन्धन नै बलियो रहेको उनीहरूको ठहर छ । एमालेका प्रत्यक्षमा जित्ने निश्चित भएकामध्ये केपी ओली र विष्णु पौडेललाई उनीहरूले देखेका छन् । त्यसमा पनि झापामा राप्रपाले १० हजार मत ओलीलाई खन्यायो भने मात्रै जित्ने हिसाब छ । काभ्रेमा गोकुल बाँस्कोटालाई गठबन्धनको मतभारका कारण अप्ठेरो छ । उनको आफ्नै छुच्याईंबापतको भोट ८–१० हजारका दरले काटिने सम्भावना छ भनिन्छ ।

संसदका कर्मचारीको दृष्टिमा काठमाडौंमा माओवादीले पाएको २ र ९ मा ऊ खतरामै देखिन्छ । बाबुरामपुत्री मानुषी (अस्मिता) ले भने ७ मा बाजी मार्ने आँकलन छ । २ मा माओवादीले पूर्वसभामुख, रोल्पाली ओनसरी घर्तीलाई उठाएको छ भने ९ मा धादिङकी कल्पना धमला छन् । उनीहरूले काठमाडौंका सबभन्दा सुरक्षित उम्मेदवारका रूपमा क्षेत्र नं. १ मा कांग्रेसका प्रकाशमान सिंहलाई देखेका छन् । काठमाडौंमा स्थानीय निर्वाचनताका देखिएको स्वतन्त्रको जनमतबाट लोभ्भिएर थुप्रैले उम्मेदवारी दिएका छन् । कुनै एक स्वतन्त्रको मात्रै प्रभाव देखिन्न । यसर्थ, प्रकाशमान सुरक्षित भएको उनीहरूले निश्कर्ष निकालेका हुन् ।

कांग्रेसका अन्य उम्मेदवारमध्ये क्षेत्र नं. ४ मा गगन थापा, ५ मा प्रदीप पौडेल, ६ मा भीमसेनदास श्रेष्ठ, ८ मा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ र १० मा कांग्रेसका राजन केसी बलियो उम्मेदवार भएको उनीहरूको ठम्याई छ । ती सबै क्षेत्रमा उनीहरू सुरक्षित देखिनुका पछाडि यसचोटिको निर्वाचनमा स्थानीयमा जस्तो स्वतन्त्रको पक्षमा लहर नदेखिनु हो । ‘स्वतन्त्रले कामभन्दा बितण्डा बढी मच्चाउँछन् भनेर काठमाडौंका जनता तीन–चार महिनामै वाक्कदिक्क भए’, एकजना कर्मचारीले बालेनको कार्यशैलीमाथि टिप्पणी गर्दै सुनाए । यदि गठबन्धनको भोट इमान्दारितापूर्व खस्यो भनेमात्र २ मा ओनसरी र ९ मा कल्पनाले जित्ने हुन् । ९ मा धादिङे समुदायको ठूलो बसोबास त छ, तर उनीहरू भोट हाल्न एक–घण्टाको दूरीमा रहेको धादिङ नै पुग्ने कारण कल्पनाका आफ्ना मतदाता त्यहाँ कम छन् ।

संसदका कर्मचारीले ठहर गरेअनुसार, काठमाडौं– २ का कांग्रेस त्यति इमान्दार छैनन् । उनीहरू गठबन्धनप्रति इमान्दार नबन्दा स्थानीय निर्वाचनमा शंकरापुर नगरपालिकामा राप्रपाले जित्यो । गठबन्धनमा कांग्रेसले दावी गरेको सो नगरपालिका एकीकृत समाजवादीलाई दिइँदा उक्त पार्टीले जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठलाई मेयरमा उठायो । तर, कांग्रेसले राप्रपालाई भोट हालिदिँदा उसले जित्यो । अहिले पनि एकीकृत समाजवादीले क्षेत्र नं. २ छोड्दा कांग्रेसले दावी गरेको उक्त क्षेत्रमा रोल्पाकी ओनसरीलाई अगाडि सारिएको रिस फेर्न उनीहरूले भोट बिगारिदिने खतरा विद्यमान रहेको कर्मचारीहरूको अनुमान छ ।

टिप्पणीहरू