यही हो त मुलुकको कृषि विकास ?, तीन महिनामा साढे २ अर्बको आलु आयात

यही हो त मुलुकको कृषि विकास ?, तीन महिनामा साढे २ अर्बको आलु आयात

कृषिप्रधान मुलुक नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा झण्डै ५ अर्ब रुपैयाँको तरकारी आयात गरेको छ । गत साउन,भदौ र असोज महिनामा नेपालले कूल ४ अर्ब ८६ करोड ४१ लाख ३६ हजार रुपैयाँको तरकारी आयात गरेको बताइएको छ ।

त्यसमध्ये नेपालले अन्य मुलुकबाट झण्डै आधा बराबरको २ अर्ब ६२ करोड ६६ लाख ३४ हजार रुपैयाँको आलु किनेर ल्याएको देखिन्छ । ११ करोड ५४ लाख ९७ हजार रुपैयाँको गोलभेडा ल्याइएको छ ।

त्यसैगरी १ अर्ब ७३ करोड ८२ लाख ५४ हजार रुपैयाँको प्याज,२५ करोड ३३ लाख ३३ हजार रुपैयाँको लसुन, ४ करोड ३५ लाख ६७ हजार रुपैयाँको च्याउ, ६५ लाख २२ हजार रुपैयाँको फर्सी र ४२ लाख १५ हजार रुपैयाँको गाजर आयात गरिएको देखिन्छ ।

“११ करोड ५४ लाख ९७ हजार रुपैयाँको गोलभेडा ल्याइएको छ । “

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले अन्यत्रबाट ५ अर्ब ५६ करोड ४२ लाख ४९ हजार रुपैयाँको तरकारी आयात गरेको थियो । योबाहेक खाद्यान्न आयातको रकम झन् कहालिलाग्दो छ ।

खेतियोग्य उर्वरभूमिमा घर ठड्याइएका छन् । ग्रामीण क्षेत्र र पहाडी भूभागमा सर्वसाधारणको बसोबास घटेको छ । गाउँघरतिर कृषि कार्यमा संलग्न हुने जनशक्ति पाइन छाडेको छ । रेमिट्यान्सको भरमा मुलुक चल्न थालेपछि नेपालीहरुको ‘स्वादे जीब्रो अल्छी तिघ्रो’ भएको छ ।

सरकार र राजनीतिक पार्टीहरुले हचुवाको भरमा कृषि क्रान्तिको योजना अघि सारेका छन् । त्यसको प्रभावकारिता निकै कम देखिँदै गएको छ । बीऊविजन,मलखादको अभाव एकातिर छ भने उत्पादनको बजारिकरण नहुँदा कृषक मारमा परेका हुन् ।

बिचौलियाको कारण उनीहरुले उक्त पेशाप्रति वितृष्णा जनाएका छन् । नयाँ पुस्तालाई आकर्षण गर्ने कुनै प्रभावकारी कदम नचालिएको परिणाम हामी परनिर्भरतामा जाकिँदै गएका हौं ।

टिप्पणीहरू