प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई एमालेको मौन समर्थन ?
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी सभापति तथा डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार शेरबहादुर देउवालाई एमालेले समेत समर्थन गरेको बताएका छन् । पछिल्लो समय विशेष जिम्मेवारीसहित गृहजिल्ला डडेलधुराको चुनावी प्रचारमा खटिएका उनले उक्त धारणा राखेका हुन् ।
आज बिहान डडेलधुरामा सञ्चारकर्मीसँगको कुराकानीमा महरले यतिखेर काँग्रेसको प्रतिस्पर्धी कोही नरेहेको बताए । ‘हुन त प्रतिनिधिसभा निर्वाचनमा देउवाविरुद्ध धेरैले उम्मेदवारी दिएका होलान् । अहिलेको ठूलो दल नेकपा एमालेले उम्मेदवारी फिर्ता गरेर प्रधानमन्त्रीज्यूलाई मौन समर्थन जस्तै गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि देउवालाई समर्थन गरेर भोट मागिरहेका छन् । अन्यलाई न उहाँ (देउवा) ले प्रतिस्पर्धी ठान्नुभएको छ, न नेपाली काँग्रेसले नै ठानेको छ,’ उनले भने ।
२०७४ मा कम्युनिष्टहरूलाई दुई तिहाई मत दिएर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दुई तिहाइको सरकार बनेको सन्दर्भ पनि उनले उल्लेख गरे । तर ओलीले सरकार जोगाउन नसकेको र संसदमाथि प्रहार गरेका कारण मुलुक अन्योलमा फसेको उनको तर्क छ ।
आगामी निर्वाचनका लागि एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुरामा देउवासँगै काँग्रेस वीपीका कर्णबहादुर मल्ल, राप्रपाका गोविन्द खडायत, जनता समाजवादीका श्याम सिनाल, स्वतन्त्र सागर ढकाल, विक्रमबहादुर शाही, कर्णसिंह रावल ‘मम्याल बाजे’ र लालबहादुर कठायत उमेदवार छन् ।
टिप्पणीहरू