सिंहदरवारमा जनताका छोराछोरीमाथि सुवेदीत्रयको सास्ती
राणा र राजतन्त्र हटे पनि मुलुकको प्रशासनमा जहानियाँ जालो घटेको छैन । बरु कतिपय सरकारी निकायमा जालो झन् बढेकै पाइन्छ । अहिले सबैभन्दा धेरै यो समस्या देशकै कूटनीतिक मर्यादा राख्ने जिम्मेवारी पाएको परराष्ट्र मन्त्रालयमा देखिएको छ ।
बालुवाटारमा विशेषगरी ‘फर्स्ट लेडी’ म्याडमको आशीर्वादमा दोहोर्याएर राजदूत पाएका दुर्गाबहादुर सुवेदी “दुबसु”का तीन भाइले जनताका छोराछोरीलाई हायलकायल बनाएको आरोप छ । पहिले बेलायतमा राजदूत,नेपाल फर्केपछि शिष्टाचार महापाल र फुत्त जापानको लागि नेपाली राजदूत बन्न भ्याएका दुर्गाका आफूसहित तीन दाजुभाइ परराष्ट्र सेवामा छन् ।
अहिले उपसचिवको लाइनमा सातौं दरबन्दीको निम्ति आठौं नम्बरमा परेका चक्र सुवेदी र मन्त्री डा. नारायण खड्काको पिए बसेका कृष्ण सुवेदी “कृसु” एउटै पेटका दाजुभाइ हुन् । यसबीच कृष्णले ठूलै काम गरेको भन्दै असोजमा तक्मा पाए । अर्का भाइलाई जसरी पनि उपसचिव बनाउने भन्दै टोकियोदेखि दिनहुँको प्रयास जारी छ ।
यसअघि लामो समय लोकसेवा आयोगसँग रस्साकस्सी परेपछि परराष्ट्र सेवाका सात जना शाखा अधिकृतलाई कार्यसम्पादन मूल्याङ्कनबाट उपसचिवमा बढुवा हुने बाटो खुलेको थियो । दुर्गाबहादुर शिष्टाचार महापाल हुँदा निकै पछाडि रहेका कृष्णलाई समेत बढुवा गराउने भन्दै तीन दर्जन उपसचिवको दरबन्दी बनाउन अथक प्रयास गरिएको थियो ।
पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक दरबन्दी भन्दै सात जनाको माग गरेर लोकसेवामा पठाएपछि चक्र,कृष्ण र राजदूत भएका दुर्गा तिल्मिलाए । तोकिएको सीट संख्यामा आफू नपर्ने निश्चित भएपछि राजदूतका ‘खेलाडी’ भाइ चक्र उक्त प्रक्रियाप्रति आपत्ति जनाउँदै भाँजो हाल्न उध्यत भए ।
यसैबमोजिम चक्रले सर्वोच्च अदालत पुगेर हिजो अन्तरिम आदेश पनि फुत्काए । यसरी उनले निजामती प्रशासनको सर्वमान्य सिध्दान्तविपरित बढुवाको मुखमा पुगेका सहकर्मी अधिकृतहरूलाई रोक्ने प्रपञ्च गरेपछि अरु रिसले आगो भएका छन् । सात जनाको बढुवासङ्गै २०६७ ब्याचका सबै अधिकृत उपसचिवमा उक्लने निश्चित छ । तर त्यसपछिका ब्याची चक्रलाई पनि अहिल्यै बढुवा हुनुपरेको स्पष्ट देखिन आउँछ ।
अहिले बढुवा हुनेको सूचीमा शाखा अधिकृतहरू हरिहरकान्त पौडेल, रञ्जिता दाहाल,ऋषि आचार्य, सावित्रा वली,सिर्जना अधिकारी, रमेशचन्द्र चर्मकार र विजय राउत छन् । यी सात जनाको बढुवामा आफू कुनै हालतमा नपर्ने भएपछि लोकसेवा आयोगले प्रक्रिया आरम्भ गर्दा नै आठ जनाको बढुवा हुनुपर्ने भनेर मन्त्रालयलाई विपक्षी बनाई उनले मुद्दा दायर गरेका हुन् ।
उसो त चक्रको सेवा प्रवेश र यसअघिको बढुवामा पनि लोकसेवाबाट यस्तै चलखेल भएको सहकर्मीहरू बताउँछन् । उनीमाथि जाँचको उत्तरपुस्तिका जाँच्ने मान्छे पत्ता लगाएर अनुचित तवरले पास भएको आरोप लाग्दै आएको छ । उनले शाखा अधिकृतमा बढुवा हुँदा लोकसेवाका केही पदाधिकारीलाई सिंगापुर,मलेसिया घुमाएका थिए ।
लोकसेवाका तत्कालीन सचिव र सदस्यलाई सन् २०१४–१५ मा आफैँले विदेश घुमाएपछि अन्तर्वार्तामा सहज तवरले उत्तिर्ण भएको परराष्ट्र र लोकसेवाका अधिकांशले स्वीकारेका छन् । उनलाई लामो समयदेखि चिनेकाहरु भन्छन्, ‘आफ्नो बढुवाको बेला भएपछि सुब्बाको दरबन्दी घटाउने र अधिकृतको बढाउने कर्मचारी यिनै हुन् ।’
काँग्रेसी भनेर चिनिएका उनै दुर्गाबहादुरले एमाले अध्यक्षसँग झापाको साइनो गाँस्दै बेलायतको राजदूतमा निरन्तरता पाएका थिए । कमल थापाको पालामा मण्डले हुँ भन्दै साम र दामको आडमा राजदूत उछिट्याए । अहिले त मन्त्री नै काँग्रेसका भए ।
उनले यतिसम्म गर्न भ्याएको भन्दै परराष्ट्रका कर्मचारीहरु भन्छन्, ‘पिकनिकको खाना सरकारी बजेटबाट व्यवस्थापन गर्ने उनै हुन् । आफूलाई काम लाग्ने देखिएपछि जोसुकैकोमा दिउरीमा तेल लिएर जान हिच्किचाउँदैनन् ।’
टिप्पणीहरू