रुपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रुपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रुपन्देहीको ओमसतिया गाउँपालिकाका पूर्वअध्यक्ष हिरा केवट (रावल) सहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा हालिएको छ । सरकारी बजेट हिनामिना गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आज अदालतमा मुद्दा हालेको हो ।

मुद्दा दायर भएकामा अन्य पूर्व प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, गाउँपालिकाका तत्कालीन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुवोधराज भट्टराई छन् । यस्तै, अख्तियारले व्यवसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालीन अध्यक्ष उमेश केवट, सचिव नरेन्द्र प्रसाद चौधरी र सहानी समिल सञ्चालक दुर्गावती केवटविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ओमसतियामा मत्स्य ब्लक सञ्चालक समितिको कार्यक्रम अनुदानमध्ये आधा रकम गाउँपालिकाका पूर्व अध्यक्षकी भाउजु दुर्गादेवीको नाममा रहेको सहानी समिलको नाममा दर्ता भोगचलन गराएको अख्तियारको अनुसन्धानमा खुलेको छ । सोही रकम अध्यक्षसहितको मिलेमतोमा परिवारका सदस्य सञ्चालक रहेको समिललाई भुक्तानी दिइएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा हालेको हो । उनीहरु सातै जनासँग २० लाख ७५ हजार रुपैयाँ बिगो र सजाय मागदाबी गरिएको छ ।

टिप्पणीहरू