कमजोरकै डाँको ठूलो हुन्छ नि हैन र !

कमजोरकै डाँको ठूलो हुन्छ नि हैन र !

लीलामणि पोखरेल, सचिव, नेकपा माओवादी केन्द्र

०४८ सालदेखि चुनाव लड्दै आएका लीलामणी पोखरेल जो ०७४ यता चुनावी मैदानबाट बाहिरिएका छन् । यसपटक प्युठानबाटै प्रतिनिधि सभामा उठ्न चाहेका थिए । गठबन्धनका कारण समस्या सिर्जना भयो र काठमाडौं २ रोज्न भनियो तर ओनसरी यता सरेपछि आफैं ‘रिङबाट आउट’ भए । खरो राष्ट्रवादी र भाषणकलामा निपूर्ण मानिने उनी ०४८ सालमै संयुक्त जनमोर्चाबाट ललितपुरको माननीय बनेका हुन् । ०५९ पछि सरकार र माओवादी वार्ताको सूत्रधार पनि । धेरै जुनियरलाई माथिल्लो पद बाँडेर अहिले उनलाई सचिव पद दिइएको छ । नेकपा दर्तादेखि विभाजनसम्म निर्वाचन आयोगसँग डिलिङमा रहेका उनले त्यस समयमा अदालत, ओली र आयोगबाट भएका केही बदमासीबारे यसरी जनआस्थालाई बताए ।

हरि गजुरेल

० ४ मंसिरपछिको परिदृश्य कस्तो देख्दै हुनुहुन्छ ? चुनावको परिणामबारे केही आकलन गर्नुभएको छ ?
– गठबन्धनको पक्षमा आउँछ निर्वाचन परिणाम आउँछ । ठीक ढंगले मत ट्रान्सफर भयो भने झण्डै दुई तिहाइ आउँछ तर हाम्रो राजनीतिक संस्कार आफ्नै पार्टीभित्र बागी बन्ने, अलग पार्टीको चुनाव चिह्नमा भोट हाल्न अलि साँघुरो सोचाइ हुने खालको छ । यसमा कांग्रेसमा अलि विवाद छ । यद्यपि, सरकार दुई तिहाइकै बन्छ ।

० काठमाडौंकै केही स्थानमा माओवादीले बागी उठाएको देखियो । गठबन्धनको निर्णय इमान्दार ढंगले किन कार्यान्वयन हुन सकेन ?
– काठमाडौं १० कांग्रेसलाई नै छुट्ट्याइएको क्षेत्र हो । एउटा प्रदेश माओवादीलाई भनिएको थियो तर त्यहाँ कांग्रेसका साथीहरू उठिदिए । गठबन्धनको निर्णय पालना भएन । त्यही कारण उक्त क्षेत्रको संघ र प्रदेशतर्फ माओवादीले उम्मेदवारी दिएको हो । गठबन्धनको नियम इमान्दारिपूर्वक पालना गर्नेमा कांग्रेसभित्र अलि बढी समस्या देखियो । हामी निर्वाचन चिह्न माध्यम मात्र हो, मुख्यचाहिँ लक्ष्य हो भन्छौं । तर कांग्रेसको चाहिँ अलि संकिर्ण सोच हुनेरहेछ । जिन्दगीभर रूखमा भोट हालेको, रूखको विकल्प कहाँ जान सकिन्छ भन्दा रहेछन् उनीहरू । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धेरै सहमति कांग्रेसबाटै भंग भयो । चितवनमा कांग्रेसका बागीको १४ हजार मत आउनु, काठमाडौंको कुनै पनि वडामा सहमति कार्यान्वयन नहुनु यसको उदाहरण हो । कांग्रेसलाई कम्युनिष्टको चुनाव चिह्नमा मतदान गर्न अलि संकोच हुनेरहेछ । कम्युनिष्ट फुटेको बेलामा पेल्नुपर्छ भन्ने दम्भले होला । हाम्रो लक्ष्य त संविधान र जनप्रतिनिधिमूलक संस्थाको रक्षा र संरचना विकास हो । ओलीका दम्भविरुद्ध हामी एक ठाउँमा भएका हौं । जीवनभर राजनीतिक सहयात्रा गरेको त होइनौं नि उनीहरूसँग !

० यति ठूलो गठबन्धन हुँदा पनि एमालेको मनोबल माथि नै देखिन्छ । के गठबन्धनका सहमति उपयुक्त नभएर हुनुपर्नेजति बलियो नभएको हो ?
– मनोवैज्ञानिक रूपमा जो कमजोर छ, उसकै डाँको ठूलो हुन्छ । म कमजोर छैन भनेर देखाउन खोज्छ । केपी ओलीजी दम्भी मान्छे । उहाँ किन एक्लै लड्न सक्नुभएन त झापामा ? किन राप्रपासँग कुम जोडेर गठबन्धन गर्नुपरेको ? राप्रपा संघीय गणतन्त्रको हिमायती होइन । राजेन्द्र लिङ्देन राजा फर्काउँछु भन्दै हिँडिरहेका छन् । राजा फर्काउने राजनीतिक शक्तिसँग ओलीको कसरी गठजोड भयो ? ओलीको कालान्तरको मिसन संघीयता, धर्मनिरपेक्षता, समावेशीता होइन राजतन्त्र फर्काउने हो भन्ने उनका गतिविधिले देखाइरहेको छ । वर्तमान राष्ट्रपति जनताले चुनेको हो तर उहाँको गतिविधि महारानीको भन्दा माथि छ । ओलीले कम्युनिष्ट पार्टीलाई चुनावी ब्राण्डको रूपमा मात्र प्रयोग गरेका हुन् ।

० विचारबाट विचलित हुने मामलामा माओवादी पनि कहाँ कम छ र ?
– माओवादीका पनि केही कमजोरी छन् । वर्गीय दृष्टिकोणले कांग्रेस सामन्त, दलाल, पुँजीपति वर्गसँग नजिक भएको पार्टी हो । वर्गीय हिसाबले नमिले पनि गणतन्त्र, संविधान र जनप्रतिनिधि संस्थाको रक्षा गर्ने राजनीतिक एजेण्डामा मात्र माओवादी र कांग्रेसबीच सहमति भएको हो । एमसीसी पारित गर्न केपी ओलीले महरा शिकार खेलेको हो । राष्ट्रिय सार्वभौमको प्रश्न गर्नुहुन्छ भने, ओलीले सामन्त गोयलसँगको परामर्शपछि संसद विघटन गरेको जगजाहेर छैन र ? अहिले चुच्चे नक्शा मैले प्रकाशन गरेको भन्दैछन् त्यो सर्वथा झुट हो । त्यतिखेर ओली प्रधानमन्त्री थिए, त्योचाहिँ सत्य हो । राष्ट्रपतिले सम्बोधन गर्ने दिन, बिहान पार्टीका ९ जनाबीच छलफल थियो । सरकारको नीति÷ कार्यक्रममा सुझाव मागियो जबकि नीति तथा कार्यक्रम ड्राफ्ट गरिवरि छाप्न पठाइसकिएको थियो । भारतको अत्याचारविरुद्ध सिंगो देश एकताबद्ध भएको स्थिति थियो । लिम्पियाधुराबाट निस्किएको कालापानीलगायतको भूभागलाई समेटेर नक्शा प्रकाशन गर्न राज्यव्यवस्था समितिले निर्देशन दिइसकेको, परराष्ट्रसम्बन्ध समितिले पनि त्यही कुरा दोहो¥याएको अवस्थामा बैठकमा उपस्थित नेताहरूले दुईवटा कुरा जोडसाथ उठाए– कोभिडका बिरामीको उपचार राज्यले जुनसुकै स्रोतबाट भए पनि गर्ने र कालापानी–लिपुलेक समेटिएको नेपाली नक्शा प्रकाशन गर्ने । वामदेवजी जसरी पनि राख्नुपर्छ भनेर पड्कनुभयो । केपी ओलीले भन्नुभयो ‘यस्तो गर्ने र ? भारत रिसाउला कि ? भारतसँग परामर्श गर्नुपर्ला कि ?’ नक्शा प्रकाशन गर्ने समयमा बलजफ्ती बैठकमा आएका कारण बाध्य भएर राख्नुपरेको हो । ‘भारत रिसाउला कि’ भनेर बैठकमा भन्ने व्यक्ति कत्तिको राष्ट्रवादी ? नाकाबन्दीको समयमा ‘भारत जान्न’ भन्ने व्यक्ति ओली नै हैनन् र अनि संसद् विघटन कसको इशारामा गरेको ? गोयलसँगको संवादपछि संसद विघटन गरेको होइन ? नेपालले नक्शा प्रकाशन गर्दा ‘विदेशीहरूको उक्साहटमा’ भन्ने अभिव्यक्ति दिएका सेनाध्यक्षलाई राष्ट्रपतिकहाँ रेड कार्पेट बिच्छाएर विशेष अतिथि बनाई मानार्थको सम्मान गर्ने को ? अनि यी तथ्यले भन्छ उनी कसरी राष्ट्रवादी ?

० त्यही समयमा गिरिराजमणि शिक्षामन्त्री हुनुहुन्थ्यो । सामाजिक शिक्षाको पुस्तकमा छापिइसकेको चुच्चे नक्शा केपी ओलीले उडाउन लगाउनुको भित्री रहस्य के हो ?
– यसमा सीमा र नापीसम्बन्धी केही विज्ञले काम गरेका थिए । सहयोगी पाठ्यपुस्तक प्रकाशन ग¥यो शिक्षा मन्त्रालयले । केपी ओलीको इगोमा ठेस लाग्यो– मलाई बाइपास गरेर घोषणा गर्ने ! पहिलो त नक्शा प्रकाशन गर्ने कुरामै विरोध थियो । यदि, प्रक्रियागत रूपमा त्रुटि भएको भए यहाँ त्रुटि भयो भनिनुपथ्र्याे तर कालापानी, लिपुलेक समेटिएको नयाँ नक्शाअंकित पाठ्यक्रम नै ब्यान्ड गरियो । त्यसको मतलब उक्त किताब पढ्नयोग्य छैन भनिएको हो राष्ट्रवाद, राष्ट्रियता स्वीकार्य छैन भनिएको हो । केपी ओलीले नक्शा प्रकाशन गरेर राष्ट्रियता प्रदर्शन गरें भन्नु ढोङ मात्र हो ।

० चुनावतिरै फर्काैं न, कतिपय क्षेत्रमा गठबन्धनका दलहरू मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै छन् । त्यसले विपक्षीलाई फाइदा पु¥याउँछ हैन ?
– एकातिर सहमति नभएको ठाउँमा मित्रवत् प्रतिस्पर्धा भनिएको छ । एमालेले त्यसैबाट फाइदा लिन खोजिरहेको छ । अर्काेतिर कांग्रेसभित्रको अन्तरविरोधमा खेल्दै छ । घनश्याम भुसाल र भीम रावलहरूले पार्टीभित्रै बसेर अन्तरविरोध गर्नु उनीहरूको अपराध थियो र ? केपी ओली आफ्नो निरंकुश शैलीको कसैले विरोध नगरोस् भन्ने चाहने । हामीले भदौ ७ गते टुंग्याउने भनेका थियौं । असोज २३ गते नोमिनशन गर्दा पनि कांग्रेसभित्रकै लफडाको कारण यो स्थिति आएको हो । कांग्रेसले ६० प्रतिशत दाबी गरेका कारण पनि समस्या परेको हो ।

० तपाईं ०४८ देखिको चुनावी खेलाडी तर अहिले मैदानबाट किन हराउनुभएको ?
– राजनीतिमा म आफ्नो भूमिकामा छु । ०७४ साल र अहिलेको निर्वाचन लडिनँ । आफूले चाहेको भन्दा फरक निर्वाचन क्षेत्रबाट चुनाव लड्न मन लागेन । खोजेको क्षेत्र नपाएपछि अन्यत्र किन डुलिरहने ? प्युठानै मागेको थिएँ । गठबन्धनमा हिजो मसालले जितेको क्षेत्र । मसाललाई बाग्लुङ दिइसकेपछि त्यो क्षेत्रमा मैले दावी गरेको हुँ ।

० यसपटक काठमाडौं २ बाट उठ्ने हल्ला थियो कि वास्तविकता ?
– काठमाडौं २ बाट उठ्दिनँ भनेर पहिल्यै भनिसकेको थिएँ ।

० नेकपा दर्तादेखि विभाजनसम्म निर्वाचन आयोगसँग डिलिङमा हुनुहुन्थ्यो । नेकपा विभाजन प्रक्रियामा अदालतले कसरी ‘सुँड’ पसा¥यो ?
– अदालतले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर एकदमै गलत निर्णय गरेको हो । जसले अदालतमा निवेदन दिँदा ‘मैले दर्ता गरेको पार्टीको नाम मलाई नै पाऊँ’ भनेर मागेको छ तर अदालतले रिट निवेदकले माग्दै नमागेको निर्णय सुनाइदियो । एमाले र माओवादीबीचको पार्टी एकता ठीक छ कि छैन भनेर माग नै नगरिएको अवस्थामा आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको निर्णय आयो । वामपन्थी शक्तिबीचको एकता नचाहने र जुन शक्तिले त्यहाँभित्र वर्चश्व कायम गरेको थियो त्यसलाई विभाजित गर्नका लागि त्यो षड्यन्त्रपूर्वक भएको निर्णय थियो । त्यसमा पनि फैसला गर्ने न्यायाधीशको पृष्ठभूमि हेर्नुहोला ।

० यसमा न्यायाधीश कुमार रेग्मी कसरी प्रयोग भए र कसरी फैसला लेखियो ?
– यो अदालतभित्रको कुरा हो । मैले राजनीतिक रूपमा हेर्दा नेपालमा वामपन्थी शक्तिलाई एकजुट हुन नदिन गरिएको खेल थियो । नेपालको राजनीति अलि ‘कम्लेक्स’ भएर गयो । नेपाल सामरिक महत्वको केन्द्र हो, अमेरिका र चीनको द्वन्द्व नेपालै भएर जानुपर्छ । चीनले वरपर घेरिएको १४ वटा देश छ जसमध्ये सबैभन्दा कमजोर कडी नेपाल हो । अरु कुनै मुलुकुले यति सहजै एक्सेस दिँदैनन् । वामपन्थी शक्तिबाट त्यो काम गर्न खोजियो भने दिँदैनन्, त्यही कारण वामपन्थी फुटाउन तिर लागेका र सफल भए पनि ।

० निर्वाचन आयोगले नेकपा विभाजनमा ओलीलाई कसरी साथ दियो ? एमाले पार्टी र सूर्य चिह्न कसरी ओलीलाई सुम्पियो ?
– सर्वाेच्चले फैसला गरेपछि निर्वाचन आयोगले साथ दिने नै भयो ।

० यसमा प्रचण्ड, माधव नेपालहरू कहाँ चुके ? १५ दिनपछि बहुमत पु¥याएर आऊ भनिएको अवस्थामा किन हच्किएर गएनन् ?
– सर्वाेच्च अदालतले फैसला गर्नेबित्तिकै हामीले पुनरवलोकन गर्न ज्वाइन्टली जाऊँ भनेका थियौं माधव–प्रचण्डलाई तर माधवजी मान्नुभएन । उहाँ एमालेभित्रै बसेर लड्छु भनिरहनुभएको थियो । आखिर एमालेबाट निस्कनुभयो । विभिन्न कारण र वातावरण बनाइदिएपछि बल्ल त्यहाँबाट निस्कनुभयो । उहाँलाई साथ दिने भनिएका दश भाइले डिलमा पु¥याई घचेटेर छाडिदिए । हामी दुईतिहाइ बढी थियौं । तत्काल निर्वाचन आयोगमा गएको भए पार्टीको नाम र सूर्य चिह्न सिधै आएको थियो ।

० त्यसमा आयोगका पदाधिकारीको भूमिका वा उनीहरूको चलखेल के–कस्तो रह्यो ?
– निर्वाचन आयोगका अधिकांश पदाधिकारी केपी ओलीको अध्यादेशबाट आएका । विना सुनुवाइ आएका तिनको उत्तरदायित्व पनि ओलीप्रति नै हुने भयो ।

० निर्वाचन आयोगले एमालेका उम्मेदवारलाई कारबाही गर्दा एमाले पार्टी नै उल्लेख नगर्ने तर प्रचण्ड र माधव नेपालहरूलाई दागा धर्ने भूमिकालाई कसरी लिनुहुन्छ ?
– पूर्वाग्रहपूर्ण व्यवहार छ । आयोग एमालेप्रति सफ्ट कर्नर राख्छ । उसको तटस्थता देखिन्न ।

० यसपटक पनि टिकट पाउनुभएन । अब पार्टीमा तपाईंको भूमिका के हुन्छ ?
– पार्टीले कार्यविभाजन गरेको छैन । आकांक्षाभन्दा त म पार्टीको इमान्दार कार्यकर्ता । जुन पद दिइएको छ त्यो मेरानिम्ति उपयुक्त पद होइन । मभन्दा धेरै जुनियर, कम क्रियाशीलहरूको पद माथि र मलाई सचिव भनिएको छ । सुप्रिमोसँग बेठीक भयो भनेर आपत्ति जनाएको छु । सबैसँग कुराकानी भइरहेको छ । उहाँहरू गुन र नुन तिर्ने पर्खाइमा हुनुहुन्छ भन्ने मेरो बुझाइ छ ।

टिप्पणीहरू