हार्डवेयर पसलमा आगलागी : २ घाइते, धनमालको क्षति

हार्डवेयर पसलमा आगलागी : २ घाइते, धनमालको क्षति

मोरङको बेलबारीस्थित एक हार्डवेयर पसलमा आगलागी भएको छ । गएराति भएको आगलागीमा दुई जना घाइते भएका छन् । झण्डै चार करोड बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ ।

बेलबारी १, ढुकुर चोकमा रहेको डबल खान ठकुरीको तीन तले घरमा रहेको शुभलक्ष्मी हार्डवेयरमा गए राति १ बजे आगलागी भएको हो ।

आगलागीको कारण विद्युत सर्ट हुनसक्ने बताइएको छ । सो क्रममा चार लाख नगद र एउटा मोटरसाइकल जलेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

आगोमा परेर ३० वर्षका भूषण ठकुरी र उनकी पत्नी २८ वर्षीया नमिता ठकुरी घाइते भएका छन् । दुवै जनालाई उपचारार्थ विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको छ ।

बेलबारी आसपास रहेका नगरपालिकाका नौ वटा वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ४ बजेको समयमा आगलागी नियन्त्रणमा आएको थियो ।

टिप्पणीहरू