दि नेपाल डिस्टीलरिजललाई मिल्यो आइएसओ ९००१ः२०१५ प्रमाणपत्र
खुकुरी रमको उत्पादक दि नेपाल डिस्टीलरिज प्रालिले ‘आइएसओ ९००१ः२०१५’ प्रमाणपत्र प्राप्त गरेको छ । उत्पादन तथा कार्यप्रणालीको गुणस्तर मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यता प्राप्त प्रमाणीकरण निकाय, डीएनभी यूकेएएसबाट उक्त प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ ।
उक्त प्रमाणपत्र एक विश्वव्यापी मानक भएकाले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरु तय गर्ने बताइएको छ । दि नेपाल डिस्टीलरिजले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान केन्द्रित गर्दै आइरहेको कम्पनीको दाबी छ । यसका लागि कम्पनीले आफ्नो उत्पादनमा निरन्तर सुधार र आन्तरिक व्यवस्थापन प्रणालीलाई पनि चुस्तदुरुस्त र समयसापेक्ष बनाउँदै आएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी, कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल हो,’ कम्पनीले जनाएको छ ।
कम्पनीले प्रतिष्ठित खुकुरी ब्राण्डमा ‘खुकुरी ट्रिपल एक्स रम’, ‘खुकुरी स्पाइस्ड रम’, ‘खुकुरी ह्वाइट रम’ र ‘खुकुरी कोरोनेसन रम’ उत्पादन गर्दै आएको छ । यी उत्पादन विश्व बजारमासमेत निर्यात हुँदै आएको छ ।
हालै कम्पनी रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गरेर नयाँ ब्राण्ड ‘न्यूड भोड्का’ बजारमा ल्याएको छ । सन् १९५९ मा स्थापित दि नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो ।
टिप्पणीहरू