बाहुनलाई भोट दिए पाप लाग्ने प्रचार

बाहुनलाई भोट दिए पाप लाग्ने प्रचार

‘निर्वाचन आयोगको ध्यान पुगोस् र सम्बन्धितलाई तत्काल आवश्यक उपचार गरियोस् । चुनाव जसले जित्नुस्, हामीलाई मतलव भएन तर जस्तो पोष्टर र नारा जनता समाजवादी पार्टी वा उसका समर्थकद्वारा अगाडि सारिएको छ, त्योचाहिँ समाजमा फाटो ल्याउने, सद्भाव बिथोल्ने, निर्वाचन आचारसंहिता प्रतिकूल हुने खालको छ ।’ उपेन्द्र यादव (जनता समाजवादी पार्टी, जसपा अध्यक्ष) को समर्थनमा ‘मन्दिरलाई नोट र बाहुनलाई भोट दिए खेर जान्छ !’ भन्नु मानवीय भावना, नेपालको संविधान र निर्वाचन कानुन सबैको प्रतिकूल छ । फगत् निर्वाचन जित्नको लागि यति तल्लो स्तरको समाज भाँड्ने नारा अगाडि सार्नुपर्ने केही ‘बाध्यात्मक‘ कारणहरू यस्ता छन्हु/न सक्छन् :

वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा खसेको वडास्तरीय सबै मतलाई जोड्ने हो भने कांग्रेसले सप्तरी–२ मा १०,८०७ मत पायो, लोसपाले १०,४३५, माओवादी केन्द्रले ९,५३४ र नेकपा एकीकृत समाजवादीले २,४०८ गरी सत्तारूढ गठबन्धनको कूल मत ३३,१८४ हो, जबकि विपक्षी गठबन्धनमा एमालेले ५,९५१, जसपाले १४,४०३, राप्रपाले १,०४८ गरी जम्मा २१,४०२ मत पाएका थिए । अनि जनमत पार्टीका उम्मेदवार डा. सिके राउतले पाएको जम्मा ४,५४२ हो । सत्तागठबन्धनबाट लोसपाका साइकल छाप उम्मेदवार जयप्रकाश ठाकुर छन् भने एमाले–जसपाहरू उम्मेदवार उपेन्द्र यादव छन् । गठबन्धनको धर्म सत्तारूढ र विपक्ष दुईटैतिर निर्वाह गरियो भने उपेन्द्र यादवलाई मन नपर्ने ‘बाहुन’ जयप्रकाश ठाकुरले जित्न सक्छन् । अनि उपेन्द्र यादवज्यू नबिच्किए अरु को बिच्किने ?

उपेन्द्र यादवले काठमाडौं उपत्यकामा पहिलो चोटी २०६४/०६५ सालतिर मधेशी जनअधिकार फोरमको कार्यालय खोल्न लाग्दा यहाँका स्थानीयले मधिसे आतंकवादी भनेर कोठा भाडामा नदिँदा पूर्वराजदूत श्यामानन्द सुमनको आग्रहमा निःशर्त कुपण्डोलमा कोठा खोज्ने मैं हुँ । सुमनजी, पुल्चोकस्थित इञ्जिनियरिङ्ग क्याम्पसको छेवैमा ‘म रिटायर्ड राजदूत हुँ, मलाई एउटा एनजिओ खोल्नुछ’ भनी झुट्टो बोल्नुपरेको थियो । म र सुमनजी दुवैजना बाहुनै नभए पनि उपेन्द्र यादवलाई मुसलमान मात्र मन पर्ने सनातन हिन्दु, उपेन्द्रकै भाषामा ‘भूराबाल अर्थात् भूमिहार, राजपुत, ब्राह्मण र लला (कायस्थ) घृणित वर्ग’ मध्येका हामी ‘कायस्थ’ हौं । हामीले कहिल्यै उहाँले जातीय विद्वेष फैलाउन प्रयोग पर्ने भाषा ‘ब्याकवार्ड वा ग्वार’ भनेर विभेद गरेनौं ।

पूर्वराजदूत सुमनजीले फोरमको अफिसमा उपेन्द्र यादव जनकपुरबाट आएर ट्याक्सीबाट ओर्लिंदा चाकुपाटस्थित घरमा लगेर खाना खुवाउनुभएको म सम्झन्छु । सो दिन कांग्रेसबाट विद्रोह गरी फोरममा प्रवेश गर्न जेपी गुप्ता पनि छलफल गर्न पुग्नुभएको थियो । जबकि त्यतिबेला विजय गच्छदार र महन्थ ठाकुरहरू चाहिँ फोरममा कम्युनिष्ट ब्याकग्राउण्ड मात्रै भएकाले त्यता जाने कि डेमोक्रेटिक धारको नयाँ पार्टी खोल्ने भन्ने अलमलमा हुनुहुन्थ्यो, पछि को, कहाँ गए, बिनासिद्धान्त किन र कति चोटी पार्टी फुटाए, कसरी मधेशका मुद्दा कमजोर पारे, मधेशी र मधेश मुद्दालाई ‘क्यास’ गरी कति पटक सांसद, मन्त्री खाए, मधेशवादको पक्षमा कहिल्यै मिडियामा कलम नचलाउनेहरूलाई कसरी ‘मधेशी विद्वान््’ ठहराई विभिन्न पदमा नियुक्ति दिलाए, त्यो सबै हाम्रो मानसपटलमा तरोताजा छ । 

उपेन्द्र यादवज्यूका पार्टी सचिव सुगा, महोत्तरीवासी नेपाल सरकारका पूर्वसचिव श्रीरत्नेश्वरलाल कायस्थले मलाई नयाँ बानेश्वर शंखमूलस्थित फोरमको दोस्रो पार्टी कार्यालयमा ‘मनोजजी, राज्य पुनःसंरचना समितिमा फोरमबाट म संयोजक छुँ, तपाईं सदस्य बसिदिनुस्, दुई सदस्यीय नाम पार्टीबाट दिनु छ । यहाँ त हुस्सै–हुस्सै गर्ने लन्ठ, बदमासहरू धेरै छन् तर सोच्ने, लेखपढ गर्ने कोही छैनन् !’ भनेको झलझली याद आउँछ । मैले भने ‘म मधेसीको हैसियतमा बस्न तयार भए पनि फोरमको सदस्य नरहेकाले पार्टीको तर्फबाट नाम नपठाउनुस् प्लिज’ भनेको थिएँ, उपेन्द्रजीलाई हेक्का रहोस् ।श्रीरत्नेश्वरलाल कुनै मुसलमान ‘बाबु राउत गद्दी, अन्सारी, आलम, साह, महतो, मण्डल, यादव’ आदि केही नभई केवल ‘लालाजी÷कायस्थ’ हुन्, जो बाहुनलाई अति आदर गर्छन् । 

उपेन्द्र यादवले छिमेकी देश भारतको बिहार र युपीका अति भ्रष्ट, सनातन–हिन्दूविरोधी नेताहरू क्रमशः आरजेडी नेता लालु यादव (अदालतद्वारा डामिएका) र समाजवादी पार्टीका अखिलेश यादवको चुनाव जित्ने मुस्लिम–यादव भाइभाइको नारा सिकेर २०७४ सालको स्थानीय निर्वाचनमा सनातन–हिन्दू धर्मको इपिसेन्टर भनी चिनिएका भारतको अयोध्या, मथुरा, काशी आदिजस्तै नेपालको जनकपुरधाममा गैरसनातनीलाई मुख्यमन्त्री बनाउनुभयो । मुस्लिम सिएमले संघीयता तथा मधेशका मुद्दाहरूलाई संबोधन गराउने काममा सिन्कोसम्म केन्द्रीय राज्यसत्तासामु भाँच्न सक्नुभएन तर अचाक्ली गैरनेपाली मुस्लिमको भीड बढाएर आजको जमानामा डाक्टर, इञ्जिनियर चाहिनेबेला धार्मिक कट्टरतावाला मदरसा शिक्षालयको संख्या बढाउनुभयो । 

उपेन्द्रजीले भारतमा सिएए र एनआरसी कानुन मोदी सरकारले ल्याउँदा लालु–अखिलेश यादव, ममता बनर्जी, अरविन्द केजरीवाल, असुदुद्दिन ओवैसी, महबुवा मुफ्ती, फारूक–ओमर अब्दुल्लाह आदिका जो मान्छे कोरोनाकालमा नेपाल पसे, तिनलाई घडेरी र नागरिकता दिलाएर भारतविरूद्ध नेपालको बोर्डरमा ‘नयाँ जम्मु–कश्मिर’ बनाउने वाचाअन्तर्गत एक किस्तास्वरूप रू. ९ करोड काठमाडौंको श्रेष्ठ थरका व्यवसायीको हातबाट कपिलवस्तुको एउटा होटलमा गएर बुझ्नुभएको समाचार पढेको छु । 

केपी ओली कट्टर मधेशविरोधी, संसद २–२ चोटी भंग गर्ने प्रतिगामी, गुठी विधेयक ल्याउनेलगायत फेसबुक नै बन्द गर्न खोज्ने, सत्तामा रहँदा कार्यकर्तालाई ‘अरिङ्गाल’ बन्न लगाउने असामाजिक प्राणी हुन् । महोत्तरी–४ का हजुरकै सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गराउँदा उहाँ म्यारियट होटलबाट निस्किएर कांग्रेस–माओवादी–नेकपा एससँग जानुभयो तर लोसपालाई भने ‘ओलीको संसद भंग गर्ने कार्यमा साथ दिएको’ भन्दै प्रवेश निषेध गर्नुभयो । आज तपाईं उनै केपी ओलीसँग सुपरग्लुले टाँसिनुभएको छ । कृपा गरेर एकाध जना कोही बाहुनले गल्ती गर्दैमा, केवल मुस्लिम भोटले चुनाव जित्ने सपना नदेख्नोस्, हिन्दू मन्दिर र बाहुनलाई गाली नगर्नुस्, समर्थकलाई त्यसो गर्न नदिनुस् !

एमालेको कोटाबाट प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र अरु दुई जना हुनुहुन्छ । सोही एमालेसँग अलायन्स गर्नुभएका जसपा अध्यक्ष उपेन्द्र यादवमाथि बाहुनविरोधी प्रचार गरेबापत कारबाही हुन्छ कि हुँदैन, हेर्नलाई दुनियाँले कुर्दैछ । 

(मनोजकुमार कर्ण, उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका) ।
 

टिप्पणीहरू