महोत्तरीमा शीर्ष नेताहरुलाई सकस, स्वतन्त्र उम्मेदवारको कडा टक्कर

महोत्तरीमा शीर्ष नेताहरुलाई सकस, स्वतन्त्र उम्मेदवारको कडा टक्कर

महोत्तरीमा गत स्थानीय तहको चुनावझैं आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरुको ओइरो लागेको छ । स्वतन्त्रहरुले यतिखेर ठूला भनिएका राजनीतिक दलका नेताहरुलाई कडा टक्कर दिने अवस्था देखिएको छ । उनीहरु राजनीतिक दलका लागि नयाँ चुनौती बनेर अगाडि आएका हुन् । 

महोत्तरीका चार वटा निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा स्वतन्त्र र राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने लक्षण देखिएको छ । क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार महन्थ ठाकुरलाई माछा चिन्ह लिएका स्वतन्त्र उम्मेदवार रामआधार कापडले अप्ठ्यारोमा पार्ने संकेत देखिन थालेको छ । 

‘कापडको सम्भावना बढेर गएको छ,’ स्थानीय मतदाताहरुको विश्लेषण हो यो । अघिल्लो निर्वाचनमा ठाकुर निकै फराकिलो मतका साथ यो क्षेत्रबाट विजयी भएका थिए । सर्लाहीमा दुई पटक चुनाव हारेपछि महोत्तरी गएका ठाकुरलाई यसपटक चुनाव जित्न थप सकस उत्पन्न भएको देखिन्छ । 

यसअघिको निर्वाचनमा आवश्यकता नदेखिँदा पनि उनले छिमेकी मुलुकको नोट बाँडेको आरोप विपक्षीहरुले अहिलेसम्म लगाइरहेका छन् । भारतमा रहेका इष्टमित्रले उपलब्ध गराएको सहयोग रकममा उनका कार्यकर्ताले त्यतिबेला रजाईं गरेको बताइन्छ । महन्थको नाममा आएको रकमले कसैले घर बनाएका थिए भने कसैले गाडी किनेका हुन् । 

ठाकुरलाई त्यतिबेला समानुपातिक उम्मेदवार हुन नदिनुको कारण पनि त्यहि नै थियो । यस पटकको निर्वाचनमा ठाकुरले उच्च जातिका भनिएका ब्राहमण र जमिन्दारहरुको धेरै भर गरेका छन् । यस पटक पनि पाँच वर्षअघिको जस्तै नगदको काम चुनावको दुई दिनअघि हुने स्रोतको बुझाइ छ । अन्यत्रझैँ महोत्तरीमा पनि रकमको ठूलो चलखेल चुनावको मौन अवधिमा हुने गरेको विगतले देखाइसकेको छ ।

सो क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट हरिनारायण यादवलाई उम्मेदवार बनाइएको छ । उनी पहिलो संविधान सभामा कृषिमन्त्री थिए । तर, एमालेका कार्यकर्ताहरु उनको समर्थन नगरी कापडलाई सहयोग गरिरहेका देखिन्छन् । कापड विद्यार्थीकालमा नेपाल विद्यार्थी संघका कार्यकर्ता थिए । 

त्यसपछि उनले नेकपा माओवादी केन्द्र रोजे । उनले यसअघि सोही क्षेत्रबाट माओवादीबाट चुनाव लडिसकेका छन् । गत स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट जलेश्वर नगरपालिकाका मेयरमा प्रतिस्पर्धी थिए । पराजय भए पनि उनले राम्रो मत ल्याएका थिए । 

कापड एउटा गैरसरकारी संस्थासँग आवद्ध छन् । गाउँघरमा खानेपानी, बाटो, पुललगायत विकासका काममा उनले हात हाल्दै आएका छन् । जातिगत हिसाबले समेत उनलाई बढी भोट आउने अनुमान लगाउन थालिएको छ । 

उता महोत्तरी क्षेत्र नम्बर–१ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । पटक पटक मन्त्री बनिसकेका सत्ता गठबन्धनका उम्मेदवार गिरिराजमणि पोखरेल, नेकपा एमाले र जनता समाजवादी पार्टीका संयुक्त उम्मेदवार लक्ष्मी महतो तथा स्वतन्त्र उम्मेदवार पोषण थापाबीच रोचक राजनीतिक भीडन्त भएको छ ।

सरकारी उपसचिवबाट राजनीतिमा प्रवेश गरेका थापालाई बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्रीको समर्थन छ । यता, मतदाताले पनि पोखरेलको विकल्पको रुपमा थापालाई जिताउने घोषणा गरेका छन् । यी सबै कारणले क्षेत्र नम्बर १ मा थापाको चर्चा चुलिएको हो । 

मतदाताहरुले पछिल्लो समय राजनीतिक दलका उम्मेदवारसँग आजित भएकाले स्वतन्त्रलाई विकल्पको रुपमा हेर्न थालेको बताएका छन् । तर, चुनावको अघिल्लो दिनसम्म यस्तै हुन्छ भनेर ठोकुवा गर्न सकिने अवस्था देखिँदैन । सँधै चुनावको अघिल्लो रात ‘भोट’ किनबेच हुने भएकाले पनि अहिलेको प्रचार प्रसारबाट अनुमान गर्न गाह्रो भएको हो । बजारमा सामान किनेझैँ मत पनि खरिदबिक्री हुने भन्दै हाकाहाकी बताउन थालेपछि निर्वाचन कसरी निष्पक्ष भएको ठान्ने ?
 

टिप्पणीहरू